INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरूको अनुसन्धानलाई प्रभावकारी बनाउन आयोगको आग्रह

बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरूको अनुसन्धानलाई प्रभावकारी बनाउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।

आयोगले ०७९ पुस २४ गते प्रेस विज्ञप्ति प्रकाशित गरी बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनालाई पुनः अनुसन्धान प्रक्रिया अगाडि बढाउनको लागि गृह मन्त्रालयबाट हालै भएको पहललाई सकारात्मक रुपमा लिएको जनाएको छ ।

बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरूमा वृद्धि हुँदै गइरहेको सन्दर्भमा पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ३ बुँदे सुझाव सहित पत्राचार गरेको जनाएको छ ।

सुझावमा भनिएको छ–‘निर्मला पन्तको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगबाट खटिएको विज्ञसहितको टोलीबाट प्राप्त सुझाव बमोजिम आयोगले ०७५ माघ १३ मा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई गरेको सिफारिस एवम् निर्देशनलाई समेत ध्यानमा राखी सो घटनालाई निष्कर्षमा पुर्याउन’ भनिएको छ ।

त्यसै गरी विगत केही वर्षदेखि नेपालमा बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरूमा वृद्धि हुँदै गइरहेको, गतवर्ष मात्र २ हजार ३ सय ८० जना महिला तथा किशोरीहरू जबरजस्ती करणीको घटनाबाट पीडित भएको स्मरण गराइएको छ । आयोगले यी घटनाका अधिकांश दोषीहरू पहिचान हुन नसकेको एवम् तत्काल कारबाहीको प्रक्रियामा लैजान नसकिएको देखिँदा बलात्कार तथा यौनजन्य हिंसालाई सम्बोधन गर्न द्रूत अनुसन्धान तथा अभियोजन प्रक्रिया अगाडि बढाउन तथा सातै प्रदेशका प्रादेशिक अस्पतालहरूमा दक्ष जनशक्तिसहित श्रोत, साधन सम्पन्न विधि विज्ञान प्रयोगशाला शीघ्र स्थापना गर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा महिला तथा यौनिक अल्पसंख्यकमाथि हुने गरेका हिंसाका घटनाहरूको उजुरी उपर तत्कालै सम्बोधन गर्न, गराउन आग्रह गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो