सप्तरी जिल्लाका २ सय ६ ओटा मतदान स्थलको ३ सय २६ मतदान केन्द्र अति सम्वेदनशील रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । कार्यालयका अनुसार एउटा मतदान केन्द्र भएका ९०, दुई ओटा मतदान केन्द्र भएका १ सय १२ र तीन ओटा मतदान केन्द्र भएका चार ओटा मतदान स्थल अति सम्वेदनशील रहेका छन् ।
यसैगरी ८६ ओटा मतदान स्थलका १ सय ३५ मतदान केन्द्र सम्वेदनशील रहेको जानकारी दिँदै जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले एउटा मतदान केन्द्र भएका ४२, दुई ओटा मतदान केन्द्र भएका ३९ र तीन ओटा मतदान केन्द्र भएका पाँच ओटा मतदान स्थल सम्वेदनशील रहेका छन् ।
३ सय २६ मतदान केन्द्र अति सम्वेदनशील र १ सय ३५ मतदान केन्द्र सम्वेदनशील रहेको जिल्लाको कुनै पनि मतदान केन्द्र सामान्य नरहेको कार्यालयले जनाएको छ ।
२ सय ९२ ओटा मतदान स्थल र ४ सय ६१ ओटा मतदान केन्द्र रहेको सप्तरीमा निर्वाचनलाई लक्षित गरी २ हजार ३३ नेपाल प्रहरी र १ हजार ९ सय २१ म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी अनुरागकुमार द्विवेदीले बताए । त्यसैगरी चुनावी सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाली सेना पनि परिचालन गरिने जनाइएको छ ।
सुरक्षा सम्वेदनशील जिल्लाको रूपमा रहेको सप्तरी जिल्लामा १९ जना इन्स्पेक्टर र १ सय ४० जना सई, असई गरी १ हजार १ सय ६४ जनशक्ति थप गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी यादवराज उप्रेतीले बताए । इन्स्पेक्टरको कमाण्डमा नौ ओटा नगरपालिकामा १८ ओटा तथा आठ गाउँपालिकामा एउटा/एउटा गरी २६ ओटा मोबाइल गाडीले गस्ती गर्ने पनि उनले जनाए ।
सशस्त्र समूहको चुनौती रहेको जिल्लामा राजपा नेपालले निर्वाचनमा भाग नलिए चुनौति थपिने भएकोले केन्द्रहरूमा सुरक्षा व्यावस्था मजबुद पारिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बताए ।
नौ नगरपालिका र आठ गाउँपालिकासहित १७ स्थानीय तह रहेको सप्तरीमा आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जेठ १५ गते निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय जेठ ६ गते नै स्थापना गरिएको छ ।