निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय अनुगमन टोली गठन गरेको राससले जनाएको छ ।
जेठ १५ गते बसेको आयोगको बैठकले चितवनका मुख्य निर्वाचन अधिकृतले आयोगमा पठाएको प्रतिवेदनका आधारमा घटनाको छानबिन गर्न सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिना संयोजक रहेको अनुगमन टोली गठन गर्ने निर्णय गरेको हो ।
टोलीका सदस्यमा गृह मन्त्रालयका सहसचिव र प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक रहने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
टोलीलाई घटनाको छानबिन गरी यही जेठ १७ गतेभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।
टोलीले स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीका टोली प्रमुख र राजनीतिक दलसँगसमेत छलफल गरी प्रतिवेदन पेस गर्नेछ ।
निर्वाचन अधिकृतको कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नं १९ को १ हजार ८ सय ९ ओटा मत गणना पूरा भई बाँकी मतगणना भइरहँदा मतगणना प्रतिनिधिमध्ये केहीले मतगणनास्थलमा प्रवेश गरी मतगणना भएका र नभएकासमेत सयौँ मतपत्र च्यात्ने काम गरेको आयोगलाई जानकारी गराएको थियो ।
हिजो राति ११ बजेर ५५ मिनेटमा मतगणना स्थलमा असामान्य अवस्था सिर्जना उत्पन्न भई तत्काल मतगणना कार्य स्थगन गर्नुपरेको व्यहोराको प्रतिवेदन मुख्य निर्वाचन अधिकृतले आयोगमा पठाएका थिए । उक्त महानगरपालिकाका २९ वडामध्ये २७ वडाको मतगणना सम्पन्न भइसकेको थियो ।