घरेलु हिंसा घटनाका तीन जना पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले पुस ६ गते न्यायीक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
कैलारी गाउँपालिका–७ रतनपुरकी ३५ वर्षीया जानकीदेवी चौधरीे, टिकापुर नगरपालिका–२ वन्दीपुरकी ५८ वर्षीया धर्माशिला सिंह र धनगढी उपमहानगरपालिका–३ भन्सार रोडकी ४५ वर्षीया दिक्षा गौतमलाई न्यायीक प्रक्रियामा सहजताका लागि सहयोग प्रदान गरेको हो ।

घरेलु हिंसा घटनाका पीडितहरुले आर्थिक अभावका कारण घटनापश्चात जिल्ला अदालतमा उजुरी दर्ता गरेपछि पटकपटक पेशीको लागि आउन जान आर्थिक समस्या भइरहेको अवस्थामा एडभोकेसी फोरमले मानव अधिकार सहायता कक्षमा सिफारिस गरेपछि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले आर्थिक सहयोग स्वरुप जनही १० हजार रुपियाँ प्रदान गरेको हो ।
पतिबाट पीडित तीनै जनाले अंश तथा सम्बन्ध विच्छेदको मुद्दा जिल्ला अदालतबाट चालु अवस्थामा रहेकाले जिल्ला अदालतको पटकपटक पेशीको कारण पीडितलाई आउन जान यातायातको समस्याले तोकिएको समयमा तारेख लिन नसक्दा मुद्दाको प्रक्रियामा ढिलाई हुने एडभोकेसी फोरमका संयोजक पुष्पबिक्रम शाहीले बताउनु भयो ।

आर्थिक अभाव कै कारण पीडितहरुले न्याय पाउनबाट कञ्चित हुन नपरोस र पीडितको न्यायमा सहज पहुँच पुगोस भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।
मानव अधिकार सहायता कक्ष कोष व्यवस्थापन समितिका संयोजक देवी खनालले यस कोषबाट पीडितलई सानो सहयोग गर्दा पीडितलाई न्यायमा सहज पहुँच हुने तथा सहजरुपमा न्याय पाउन सक्ने बताउनु भयो ।

इन्सेकले गरेको आर्थिक सहयोगका कारण आफूहरुलाई न्याय पाउन सहज हुने र आर्थिक अभावको अवस्थामा यो सहयोगले ठुलो राहत हुने भन्दै पीडित दिक्षा गौतमले इन्सेकलाई धन्यवाद व्यक्त गर्नु भयो ।