नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा सदस्य तथा जनता टेलिभिजनका गोरखा संवादाता विकास भट्टराईलाई प्रहरीले विगत नौ दिनदेखि गिरफ्तार गरी हिरासतमा राखेको छ ।
पालुङटार नगरपालिका-१ खोप्लाङका २४ वर्षीय भट्टराई जेठ २ गते प्रहरीबाट गिरफ्तार गरिएका थिए । पत्रकार महासङ्घका जिल्ला अध्यक्ष किशोरजङग थापासँग कुराकानी गरिरहेका भट्टर्राईलाई प्रहरीले केहि कुरा बुझनु छ भन्दै गिरफ्तार गरेको थियो ।
गृह मन्त्रालयको आदेश अनुसार भट्टर्राईलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध भएको र चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा भट्टराईलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी विरेन्द्र थापाले बताए ।
गिरफ्तार गरिएका पत्रकार भट्टराइले भने आफू सो पार्टी आबद्ध भएपनि हाल पूर्णकालीन पत्रकारको रूपमा कार्यरत रहँदै आएको र चुनाव विरोधी गतिविधिमा संलग्न नरहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ गोरखाका अध्यक्ष किशोरजङ्ग थापाले गिरफ्तार गरिएका पत्रकार भट्टराईलाई महासङ्घका तर्फबाट रिहा गराउने प्रयास जारी रहेको जानकारी दिए ।