१४ वर्षीया बालिकालाई यौनजन्य दुर्व्यवहार गरेको घटनाका कसूरदार नारायण नगरपालिका–८ तर्ताङ्गका ४३ वर्षीय बखतबहादुर खड्कालाई दैलेख जिल्ला अदालतले एक महिना कैद, पाँच हजार जरिवाना र १० हजार रुपियाँ पीडित बालिकालाई क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले पुस ४ गते बाल यौन दुरुपयोग कसूरमा उक्त फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
०७८ मङ्सिर २५ गते साँझ गाउँ नजिकको बाटोमा यौन उत्तेजनाको कुरागर्दै बालिकालाई यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले ०७८ मङ्सिर २९ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको उजुरीको आधारमा अनुसन्धान सकेर सरकारी वकील कार्यालयले ०७८ पुस १९ गते जिल्ला अदालतमा अभियोग बुझाएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७८ मङ्सिर २९ गते दैलेख जिल्ला अस्पतालमा भएको थियो ।
अभियोग सम्बन्धमा भएको थुनछेक बहसपछि दैलेख जिल्ला अदालतले घटनामा संलग्न व्यक्तिलाई ०७८ पुस १९ गते १ लाख रुपियाँ धरौटी राखेर तारेखमा छोडेको थियो ।