नाम्खा गाउँपालिकाको कार्यालय सदरमुकाम सिमकोटमा राखिँदा सेवाग्राहीलाई असहज भएको छ । गाउँपालिका केन्द्र यालवाङमा राखिनु पर्नेमा २०७४ को स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको कार्यालय सदरमुकाम सिमकोटमा राखिदा नाम्खा गाउँपालिकाका स्थानीयले असहज खेप्नु परेको हो ।
स्थानीय सेवाग्राहीका लागि सहजता नसोचेर जनप्रतिनिधिले आफ्नो सुविधाका लागि सो गाउँपालिकाको कार्यालय सदरमुकाम सिमकोटमा राखिएको स्थानीय दावा छिरिङ तामाङले गुनासो गर्नु भएको छ । स्थानीय तामाङका अनुसार सुविधा भोगी कर्मचारी र जनप्रतिनिधिले आफ्नो सहजता र सुविधाका लागि सदरमुकाममा सम्पर्क कार्यालय खोलेर काम गरेकाले स्थानीयलाई असहज भएको बताउनु भएको हो ।
नाम्खा गाउँपालिकाका स्थानीयले गाउँपालिकाबाट लिनुपर्ने सेवाहरू दुईदेखि तीनदिनसम्म पैदल हिडेर सदरमुकाम सिमकोट पुगेर सेवा लिनुपर्ने बाध्यता भएको छ । कहिले काँही त तीनदिन लगाएर सिमकोट पुगेपनि कार्यालयमा जनप्रतिनिधि र कर्मचारी नभेट्दा गाउँमा फर्कनुपर्ने बाध्यता रहेको तामाङको भनाई छ ।
योजनाको सिफारिस गर्न, सम्झौता गर्न, भुक्तानी लिन हाल सेवाग्राहीले सदरमुकाम धाउनु पर्दा भौतिक कष्ट र आर्थिक रूपमा समेत भार भोग्नु परेको उहाँले बताउनु भएको छ ।
विभिन्न समस्या हुने भएपछि नाम्खा गाउँपालिकाका स्थानीयवासीले ०७९ पुस ३ गते पालिकाको कार्यालय केन्द्र याल्वाङमै सार्नुपर्ने माग गरेका छन् ।
नाम्खा गाउँपालिका–४ का पेमा डम्डुल लामाले सदरमुकाममा रहेको सम्पर्क कार्यालय तत्काल बन्द गर्न मागगर्नु भएको छ । तत्काल कार्यालय स्थानीय तहमै नसारे माथिल्लो निकायसम्म मागगर्ने सेवाग्राहीले बताउनु भएको छ ।
गाउँ गाउँमा सिंहदरबार पुगेको भनेपनि हामी स्थानीयका समस्या यथावत नै रहेका छन । व्यवस्था फेरियो अवस्था फेरिएन स्थानीयको भनाई छ ।
सेवाग्राहीले सो माग गरेपनि गाउँपालिका अध्यक्ष प्रेम लामाले बाध्यता र परिस्थितिले गर्दा सिमकोटमा रहेको सम्पर्क कार्यालय तत्काल सार्न नसकिने प्रतिक्रिया दिनु भएको छ ।