घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते हुनुभएकी कालिकोट जिल्लाकी एक बालिकाको आर्थिक अभावले थप उपचारमा समस्या भएको छ ।
पलाँता गाउँपालिका–७ पारौटीकी १६ वर्षीया हिरकला बमको टाउकोमा गम्भीर चोट लागेपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा शल्यक्रिया गर्नुपर्ने भएपछि थप समस्यामा पर्नु भएको हो ।
आफन्तको सहयोगमा उपचार गराइरहेकी बालिकाको थप उपचारमा अस्पतालले करिब ३ देखि ४ लाख रुपियाँसम्म लाग्ने बताएको घाइतेका ठूलोबुवा धिरज बमले जानकारी दिनुभएको छ ।
प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले टाउको र मेरुदण्डको उपचारमा अस्पतालले १ लाख रुपियाँसम्म व्यहोर्ने बताउनु भयो ।
बमका अनुसार बालिकाका बुबाआमा शारीरिकरुपमा अशक्त हुनुहुन्छ । मङ्सिर २० गते घाँस काट्ने क्रममा भीरबाट ४ सय मिटर तल खस्नुभएकी हिरकलाको २४ घण्टापछि उद्धार गरिएको थियो । घाइते हिरकलाको हाल प्रदेश अस्पतालको आइसियूमा उपचार भइरहेको छ ।