INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले उजुरी दर्ता नगरेको पीडितको आरोप

१७ वर्षीया बालिकालाई बलात्कार प्रयास भएको घटनाको मुद्दा प्रहरीले दर्ता नगरेको पीडित पक्षले आरोप लगाएको छ ।

दुल्लू नगरपालिका–८ मेहलपानीका ५७ वर्षीय बलबहादुर भण्डारीले बलात्कार प्रयास गरेको भन्दै प्रहरीमा दिएको उजुरी दर्ता नगरेको पीडित पक्षको भनाइ छ ।

दाउरा ल्याएर आउँदै गर्दा बनमा एक्लै फेला पारेर बलात्कार प्रयास गरेको भनी खुलाई दिएको उजुरी प्रहरीले दर्ता गर्न नमानेको पीडित पक्षको आरोप छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्स्पेक्टर पुरुषोत्तम कार्कीको ध्यानाकर्षण गराउँदा ‘बाल यौन दुरुपयोगमा उजुरी दिए उचित हुने भएकोले बदल्न सुझाव दिइएको सो अनुसार उजुरी नआएको’ बताउनुभयो ।

‘आरोपितले आफ्नो कपडा पनि नखोलेको र बालिकाको कपडा पनि खोल्ने प्रयत्न नभएको तर स्तन चलाएकोसम्म हो’ भन्ने घटना विवरणबाट खुलेकाले उजुरी बदल्न भनेको तर पीडित पक्षलाई सम्झाईबुझाई गर्न ढिला भएको इन्स्पेक्टर पुरुषोत्तम कार्कीले भन्नुभयो । ‘उजुरी बदले दर्ता हुन्छ’ उहाँले भन्नुभयो ।

घटना भएको मङ्सिर २३ गते, हामीले मुद्दा बुझाएको मङ्सिर २४ गते हो । चार दिनसम्म दर्ता भएन, कसैको दवाव हो कि ? भन्ने आफूलाई लागेको पीडित बालिकाकी आमाले भन्नुभयो ।

दुवै पक्षका कुरा जानकारीमा आएको र मध्यमार्गी बाटोबाट समाधान निकाल्ने प्रयास भइरहेको मानव अधिकार रक्षक सञ्जालका जिल्ला सदस्य महिला तथा बालबालिका सेवा केन्द्रका संयोजक रमा श्रेष्ठले जानकारी दिनुभयो । बदल्ने नै भए पनि ढिला चाहिँ भएकै हो उहाँले भन्नुभयो ।

अन्य

भिडियो