रास्कोट नगरपालिका–९ मा रहेको पिङ्लादेवि आधारभुत विद्यालयमा छात्रा शौचालय र सेनिटरी प्याडको अभाव भएपछि विद्यालय पढने उमेरका किशोरीलाई समस्या भएको छ ।
विद्यालयमा सेनिटरी प्याडको अभाव भएपछि महिनावारी भएका किशोरी विद्यालय जानबाट वञ्चित हुनु परेको छ ।
विद्यालयमा सेनिटरी प्याड सकिएको र किशोरीका लागि छुुट्टै शौचालय नभएका कारण महिनावारीको समयमा पाँच दिनसम्म विद्यालय आउनबाट वञ्चित हुनु परेको पिङ्लादेवि आधारभुत विद्यालय रास्कोट नगरपालिका–९ मा अध्ययनरत १४ वर्षीया चर्चिला तिरुवाको गुनासो रहेको छ । किशोरी उमेरका बालिकाले विद्यालयदेखि घरसम्म समस्या रहेको बालिकाहरूको भनाई रहेको छ ।
रास्कोट नगरपालिका–८ की १५ वर्षीया प्रतिभा धमलाले किशोरीहरूको प्रजनन, मानसिक, बौद्धिक, आर्थिक तथा अन्य क्षेत्रमा विकास र परिपक्व हुने अवस्था भएपनि घरायसी वातावरण, विद्यालयका समस्याका कारण अप्ठारो परिस्थिति झेल्नु परिरहेको बताउनु भयो । साथै उहाँले मुख्य गरीे १३ देखि १९ बर्षसम्म किशोर अवस्थाको उमेरमा महिनावारी हुने समय भएको र जिल्लामा अहिलेपनि छाउपडी प्रथा कायम रहेकाले बलात्कारको सिकार तथा सर्पले टोकेर ज्यान जाने डर रहेको सुनाउनु भयो ।
विद्यालयका प्रद्यानाध्यपक गणेश बरालले सेनीटरी प्याड सकिएको बारेमा आफूलाई जानकारी नभएकाले बुझेर ल्याउन पहल गर्ने बताउनु भयो ।
रास्कोट नगरपालिका शिक्षा शाखा प्रमुख खेमराज शाहीले विद्यालयका लागि सेनिटरी प्याड खरिद गरिएपनि विद्यालय नपुगेका कारण समस्या हुनसक्ने बताउदै तत्काल पुर्याउनका लागि पहल गरिने प्रतिवद्धता जनाउनु भयो ।