सुनकोशी गाउँपालिका–४ स्थित यमुनाडाँडाँका बोल्न नसक्ने ३४ वर्षीय बासु खड्का, सोही ठाउँका २० वर्षीय राजु खड्का, २० वर्षीय निर्मल खड्का र २१ वर्षीय हरिशरण खड्कालाई सुनखानी अस्थायी प्रहरी चौकीका इन्चार्ज असई हरि ठकुरी (हमाल)को नेतृत्वमा रहेको प्रहरीले चोरीको आरोपमा हिरासतमा राखी कुटपिट गरी यातना दिएको भन्दै ०७९ मङ्सिर १५ गते जिल्ला अदालतमा घाजाँच गरी कानुनी कारबाहीको लागि उजुरी दिएका छन् ।
स्थानीय एक पसल चोरी गरेको आरोपमा चौकीका इन्चार्जको नेतृत्वमा ०७९ मङ्सिर १४ गते आएको प्रहरी टोलीले आफुहरूलाई गिरफ्तार गरी प्रहरी चौकीमा पुर्याएर दिउँसो ११ः३० देखि अपराह्न ४ बजेसम्म लगातार पोलिथिनको पाइप र बासको लठ्ठी समेतले शरीरको विभिन्न ठाउँमा कुटपिट गरी चोरी गरेको कुरा जबरजस्ती स्वीकार गर्न दवाब दिएको पीडितहरूको भनाइ छ ।

पीडितहरूको भनाई अनुसार प्रहरी चौकीको भिन्न भिन्न कोठामा राखी लगातार दिनभरी कुटपिट यातना दिई चोरी सावित गराउन नसकेपछि बेलुकी पख वडा अध्यक्ष भोजलाल श्रेष्ठ र अभिभावकको जिम्मा लगाइ छाडेका थिए ।
हामी निर्दोश मानिसलाई प्रहरीले चौकीमा पुर्याई दिनभरी कुटपिट गरेको र चोरीको आरोप लगाई बेइजती समेत गरेकोले ठूलो अन्यायमा परेको निवेदनमा उल्लेख छ ।
प्रहरीले कुटपिट गरी यातना दिएकोमा प्रहरीले नै घाजाँच नगर्ने भएको हुँदा मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४ को दफा २२(२) बमोजिम निवेदन दिएको उजुरीमा उल्लेख छ ।
प्रहरीले कुटपिट गरी यातना दिएका व्यक्तिहरूको शरीरमा भएको घाउजाँच जिल्ला अदालतका न्यायधीश बिदुर कोइरालाको आदेशले ०७९ मङ्सिर १५ गते चौतारा अस्पतालमा भएको पीडितका बुवा बच्चु खड्काले बताउनु भयो । घाइतेहरूको शरीरको विभिन्न भागमा निलडाम रहेको छ ।
