INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

घरेलु हिंसा घटनाका चार जना पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले मङ्सिर १४ गते न्यायीक प्रक्रियामा पहुँच स्थापित गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

कैलारी गाउँपालिका–३ टिसिएन उत्तरभर्रीकी ४९ वर्षीया रन्जिता चौधरीे, गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया तुल्छा कठायत, गोदावरी नगरपािलका–४ खैरानाकी ३४ वर्षीया धनाकुमारी देउवा र धनगढी उपमहानगरपालिका—६ सिद्धार्थ टोलकी ५१ वर्षीया जयन्तीकुमारी चन्दलाई न्यायीक प्रक्रियामा सहजताका लागि सहयोग प्रदान गरेको हो ।

photo20221130kailai (2)

घरेलु हिंसा घटनाका पीडितहरुले न्यायका लागि जिल्ला अदालतमा उजुरी दर्ता गरेपछि पटक पटक पेशीको लागि आउन जान आर्थिक समस्या भइरहेको अवस्थामा एडभोकेसी फोरमले मानव अधिकार सहायता कक्षमा सिफारिस गरेपछि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले पीडित महिलाहरुलाई आर्थिक सहयोग स्वरुप जनही १० हजार रुपियाँ प्रदान गरेको हो ।

पतिबाट पीडित चारै जना महिलाले अंश तथा सम्बन्ध विच्छेद र खाना खर्च सम्बन्धी मुद्दा जिल्ला अदालतबाट दर्ता गरेको भए पनि जिल्ला अदालतमा पटक पटक पेशी तोकिने तर आर्थिक अभावका कारण पीडितलाई आउन जान यातायातको समस्याले तोकिएको समयमा तारेख लिन नसक्दा मुद्दाको प्रक्रियामा ढिलाई हुने गरेकोले आर्थिक सहयोगका लागि इन्सेकमा सिफारिस गरिएको एडभोकेसी फोरमका जिल्ला संयोजक पुष्पबिक्रम शाहीले बताउनु भयो ।

photo20221130kailai (1)

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट कञ्चित हुन नपरोस र पीडितको न्यायमा सहज पहुँच पुगोस भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताउनु भयो ।

इन्सेकले गरेको आर्थिक सहयोगका कारण आफूहरुलाई न्याय पाउन सहज हुने भएको पीडित जयन्तीकुमारी चन्दले बताउनु भयो ।

अन्य

भिडियो