मङ्सिर ४ गते भएको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा इन्सेक बागमती प्रदेश कार्यालयले मकवानपुर र चितवन जिल्लाका मतदान केन्द्रहरूमा भएको मतदान कार्यको पर्यवेक्षण तथा अनुगमन गरेको छ ।
इन्सेक बागमती प्रदेश प्रमुख गणेश भण्डारी, जिल्ला प्रतिनिधि पुष्पराज अधिकारी र पर्यवेक्षक विनोद ढकालको टोलिले मकवानपुर र चितवनका जम्मा सात ओटा मतदान स्थलका ३० ओटा मतदान केन्द्रमा भएको निर्वाचन कार्यको पर्यवेक्षण गरेको हो ।

टोलिले मकवानपुरको दुई ओटै प्रतिनिधि सभा क्षेत्र अन्तर्गतका मतदान केन्द्र र चितवनको प्रतिनिधि सभा १ का मतदान स्थलको मतदान केन्द्रहरुमा भएको मतदान कार्यको पर्यवेक्षण गरेको हो ।
टोलिले मकवानपुरको प्रतिनिधीसभा क्षेत्र १ अन्तर्गत हेटौँडा उपमहनगरपालिका–६ को बंशगोपाल मावि, ७ को नवज्योति मावि, क्षेत्र २ अन्तर्गतको हेटौँडा वडा नं. १९ को निर्मल मावि, मनहरी गाउँपालिकाको ऋषेश्वर बालजागृत आधारभुत विद्यालय, राष्ट्रिय रोटरी मावि र चितवनको राप्ती नगरपालिका–१ को राष्ट्रिय मावि महादेवटार र बुद्ध शान्ति मावि मतदान केन्द्रमा भएको मतदान कार्यको प्रयेवेक्षण तथा अनुगमन गरेको हो ।
पर्यवेक्षणका क्रममा सबै स्थानहरूमा शान्त वातावरणमा मतदाताहरू मतदान प्रकृयामा सहभागी भएको पाइएको इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले बताउनुभयो ।

मतदान केन्द्रमा मतदातालाई लाईनबाट मतपेटिकासम्म पुग्न सहज हुने गरी केन्द्रको व्यवस्थापन मिलाएको तथा वृद्ध, अशक्त अपाङ्ग भएका व्यक्तिलाई सजिलै मतदान गर्न पाउने गरी व्यवस्था भएको पाइएको उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा गएको स्थानीय तहको चुनाबमा भन्दा कम मात्र मत खसेको मतदान अधिकृतहरूले बताएका छन् । साथै एकै मतदान स्थलमा नौ ओटासम्म मतदान केन्द्र हुँदा मतपेटिका व्यवस्थापनमा समस्या भएको, मतदाताको भिडभाड बढी हुने गरेको तथा मतदाता पनि अलमलमा पर्ने गरेको बताउनु भयो ।
निर्वाचन प्रकृयामा संलग्न मतदान अधिकृत गोपालप्रसाद शर्माका अनुसार एउटा मतदान स्थलमा चार ओटा भन्दा बढी मतदान केन्द्र नराख्न निर्वाचन आयोगलाई सुझाव दिन आग्रह समेत गर्नु भएको थियो ।
चार ओटा भन्दा बढी मतदान केन्द्र एउटै मतदान स्थलमा नराखि अन्यत्र वैकल्पिक मतदान केन्द्रको व्यस्था गर्नु पर्ने हेटौँडा उपमहानगरपालिका ४ भुटनदेवी मावि ग मतदान केन्द्रका अधिकृत अमर अधिकारीले बताउनु भयो ।
