जाडो महिना होस या गर्मी महिना छत्रेश्वरी गाउँपालिका–६ भोटचौरनिवासी ४२ वर्षीय भीमबहादुर नेपाली शारदा खोलाको किनारमा प्रत्येक दिन बिहान बालुवा सङ्कलन गर्छन् । उहाँको दैनिकी प्रायजसो बालुवागिट्टी सङ्कलन गरेरै बित्ने गर्छ । पछिल्लो समय सबैको चासोको विषय बनेको मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनले उहाँलाई छोएन् ।
उहाँ भन्नुहुन्छ, अहिले त उम्मेदवारहरू हामी काम गरिरहेकै ठाउँमा आएर भोट माग्नुहुन्छ, विगत जस्तै झुटा सपना देखाउनुहुन्छ । विगतमा पनि उम्मेदवारले विकासका काम गर्ने, प्रत्येक घरका एक जनालाई रोजगारी दिने, स्वास्थ्य संस्था सहज रूपमा उपलब्ध गराउने भन्दै भोट माग्न आउनुहुन्छ, नेपालीले भन्नु भयो, नेताहरूले सधैँ हामीलाई भोटमा मात्र सीमित गराए ।
घोषणा–पत्र कागजमामात्र सीमित रहेका कारण छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरका दलितमात्र नभई शारदा नगरपालिका–१ शान्तिनगरमा बस्ने बादी समुदाय र जिल्ला भरिका दलित समुदाय समस्यामा परेको दलबहादुर नेपालीले आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, सामान्य समस्या समेत समाधान गर्न नसक्दा र बेरोजगारी चपेटामा पर्दा दलित समुदायका पुरुष तथा महिला कोही शारदा नदी लगायत विभिन्न खोलाको किनारमा गिट्टी बालुवा संकलन गरेर जीविकोपार्जन गर्दै आएका छन्, उनीहरूमा कुनै परिवर्तन आउन सकेको छैन ।
विगतका निर्वाचनमा बेरोजगारी समस्या समाधान, एक घर एक रोजगारी, सीपमूलक तालिम, साना उद्योग संचालनमा सहयोग, भूमिहीनलाई जग्गा उपलब्ध गराउने भन्दै आए, अहिलेसम्म जनता आवास कार्यक्रमबाट बस्नका लागि घरबाहेक अन्य व्यवस्था गर्न सकेका छैनन्, शारदा नगरपालिका–१ शान्तिनगरका दीर्घ बादीले गुनासो गर्नुभयो ।
उम्मेदवारले आफूहरूलाई भोटरका रूपमा मात्र चिन्ने गरेको उहाँको आरोप छ । ‘बेरोजगारीले दैनिक दुई छाकको खर्च टार्न धेरै गाह्रो छ । गिट्टीबालुवा बिक्री नहुँदा कहिलेकाही भोकै बस्नुपर्छ । खै त हाम्रो समस्या बुझेको, उहाँले भन्नुभयो ।
नेताले विकासको नाममा आफ्ना कार्यकर्ता मात्र पाल्ने गरेको र दलित समुदायको बस्तीमा फर्केर नआउँदा दलितको समस्या जहाँको त्यही रहेको र दैनिक छाँक टार्नका लागि मजदुरीमै सीमित हुन परेको उनीहरूको गुनासो छ ।
शारदा नगरपालिका–३ संगीतटोलका प्रेम गन्धर्बले बस्तीमा जाने बाटो समेत गतिलो नभएको बताउनु भएको छ । आवास कार्यक्रमले बस्नका लागि घरको व्यवस्था गरिदिए पनि सामाजिक, आर्थिक परिवर्तन, शैक्षिक परिवर्तन नभएको संगीतटोलका प्रेमले गुनासो गर्नु भएको छ । ‘न त पढेलेखेकाले गतिलो जागिर पाएका छन, उहाँले भन्नुभयो, न त सीप अनुसारको पेसा नै । उहाँले आफ्ना समस्या सुनेर सम्बोधन गर्न समेत उम्मेदवारहरूलाई आग्रह गर्नु भएको छ ।
