INSEC Online

📅 २०८३ जेष्ठ २२

निर्वाचन प्रभावित पार्न खोजेको भन्दै मन्त्रालयका सचिवविरूद्ध नाराबाजी

सहरी विकास मन्त्री मेटमणी चौधरीलाई निर्वाचनमा सघाउन मन्त्रालयका सचिव डा. रमेश सिंह र डिजी सुरेन्द्रमान श्रेष्ठ दाङ निर्वाचन क्षेत्र नम्बर १ भालुवाङमा आएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरूले नाराबाजी गरेपछि दुबै जना कात्तिक ३० गते राति १ बजे काठमाण्डौ फर्किनु भएको छ ।

मतदातालाई प्रभावित पार्ने गरी कात्तिक ३० गते भालुवाङको होटल पौवामा रातको समयमा आएर मन्त्री मेटमणी चौधरीसँग भेट्न थालेको भन्दै नेकपा एमालेका कार्यकर्ताहरूले होटल पौवा घेराउ गर्दै नाराबाजी गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको स्कटिङमा रातको १ बजे प्रदेश ३ ९१०–०२२ च ३४९९० नम्बरको स्कारपियो र बा २ झ २९५७ नम्बरको पिकअप गाडीमा जिल्ला बाहिरिएका थिए ।

बिदेश भ्रमण स्वीकृति फाइललगायत, केही नियुक्तिका फाइल समेत ल्याएर दाङ आएका सचिव सिंहले आफू मङ्सिर ५ गतेदेखि अवकासमा जान लागेकाले मन्त्रीलाई भेट्न आएको बताउनु भयो । तर निर्वाचन आचार संहिता विपरित मन्त्रीको निर्वाचन क्षेत्रमा मध्यरातमा आएर आर्थिक चलखेलको योजनासहित आएकाले आफूहरूले विरोध गरेको र प्रहरीले राती नै फिर्ता पठाएको नेकपा एमालेका कार्यकर्ता जगत खनालले जानकारी दिनु भयो ।

मन्त्रालयकै काममा मन्त्रीलाई भेट्न आएको तर विरोध भएपछि सहजरुपमा फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बीरबहादुर ओलीले बताउनु भयो ।

नेकपा एमालेका कार्यकर्ताले विरोध गरेपछि सहरी विकास मन्त्री एवं दाङ निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य उम्मेदवार मेटमणी चौधरीले सचिवसँग भेट नगरी लमहीमै रोकिनु भएको थियो ।

अन्य

भिडियो