नरहरीनाथ गाउँपालिका-७ नन्दादेवी मावि शेरापाटा मतदान केन्द्रमा वैशाख ३१ गते सुरक्षाकर्मीले चलाएको गोली प्रहारबाट घाइते भएका सोही ठाउँका राप्रपाका वडा अध्यक्ष उम्मेदवार ३९ वर्षीय धनरुप वटालाको जेठ १ गते मृत्यु भएको छ ।
सोही ठाउँको नन्ददादेवी मावि शेरापाटा मतदान केन्द्रको मतपेटिका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कब्जा गरेर जलाएपछि उक्त स्थानमा सुरक्षाकर्मीले गोली चलाएको प्रमुख जिल्ला अधिकारी गिरीधारी सुवेदीले बताए ।
प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार मतपेटिका शिलबन्दी गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ढुङ्गा प्रहार गरी मतपेटिका खोसेर जलाएपछि सुरक्षाकर्मीले प्रतिकारका लागि गोली चलाएको हो ।
सुरक्षाकर्मीको गोली प्रहारबाट सोही ठाउँका ४५ वर्षीय व्यासी बिक, ३० वर्षीय दानबहादुर वटाला र ३२ वर्षीय कूलमान वटाला घाइते भएका छन् । घाइते सबैलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रजिअ सुवेदीले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मान्म ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्र खड्काले बताए । उक्त मतदान केन्द्रको निर्वाचन रद्ध गरिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिएका छन् ।