INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– निर्वाचन आचारसंहिता उल्लङ्घन आरोपमा तेहृ उजुरी

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता ०७९ विपरित गतिविधि गरेको आरोपमा जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कात्तिक २८ गतेसम्म १३ ओटा लिखित उजुरी परेका छन् ।

इन्सेक प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरेको अनुगमनका क्रममा विभिन्न जिल्लामा गरी १३ ओटा लिखित उजुरी परेको पाइएको छ । आचारसंहिता विपरित गतिविधि गरेको आरोपमा उजुरी परेका ११ जना कर्मचारीलाई निर्वाचन कार्यमा नखटाउने निर्णय गरिएको छ ।

प्रदेश १ मा निर्वाचन क्षेत्र प्रदेशसभातर्फ ५६ र प्रतिनिधिसभातर्फ २८ छन् । मङ्सिर ४ गतेको निर्वाचनबाट प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ जना गरी ९३ जना सांसद निर्वाचन हुने छन् ।

photo 20220909 Morang

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार निर्वाचन आचारसंहिता ०७९ उल्लङ्घन गरेको आरोपमा  ११ जना कर्मचारीमा कारवाही गरिएको छ ।  निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा ११ जना कर्मचारीलाई कारवाही गरिएको आचारसंहिता अनुगमन समितिका संयोजक चिरञ्जीवी अधिकारीले बताउनु भयो । अनुगमन समितिका संयोजक अधिकारीका अनुसार जिल्लाका १० जना शिक्षक र एक जना कर्मचारी छन् । आचारसंहिता उल्लङ्घन गर्ने ११ जनामाथि स्पष्टीकरण सोधिएको उहाँको भनाइ छ । उम्मेदवारको पोष्ट लाइक सेयर र कमेन्ट गरेको लिखित उजुरीका आधारमा ११ जना माथि कारबाही गरिएको अनुगमन समितिका संयोजक अधिकारीले बताउनु भयो । स्पष्टीकरण पश्चात सबैजनाले निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता पालन गर्ने प्रतिबद्धता जनाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ११ जनालाई नै निर्वाचन कर्मचारी बाट हटाएको जनाएको छ । जिल्लामा हाल ४ सय १२ जना शिक्षक, ८ सय ८३ जना कर्मचारीसहित १२ सय ९५ जना कर्मचारी निर्वाचनमा खटिएका छन् । जिल्लामा दुई ओटा अस्थायी मतदानकेन्द्रसहित १ सय ६१ ओटा मतदानकेन्द्र तोकिएको छ । जिल्लामा १ लाख १७ हजार ५ सय ५४ जना मतदाता छन् । १ हजार ४ सय ३ जना अस्थायी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेको आरोपमा तीन ओटा लिखित उजुरी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कात्तिक २८ गतेसम्म तीन ओटा लिखित उजुरी परेको जानकारी दिएको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिका अध्यक्ष उपाध्यक्ष, माप्य दुधकोशी गाउँपालिका अध्यक्ष र थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षविरूद्ध आचारसंहिता विपरित कार्य गरेको भन्दै उजुरी परेको सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीले बताउनु भयो । कात्तिक १७ गते थुलुङ दुधकोशी गाउँपालिकाकोे प्राङ्गणमा बाम लोकतान्त्रिक गठबन्धनले गरेको चुनावी प्रचार कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईले खुलेरै गठबन्धनका उम्मेदवारहरूलाई मत माग्नु भएको भन्दै उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले कात्तिक २० गते एमालेका उम्मेद्वारलाई मत मागेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमाछिरी शेर्पा र उपाध्यक्ष टासील्हामु शेर्पाविरूद्ध उजुरी परेको छ । प्रतिनिधिसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता विपरित गाउँपालिकाले विद्युत र खानेपानीको सर्भे गराएर मतदातालाई प्रभावित गर्ने काम गरेको आरोप लगाउँदै बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट लिखित उजुरी कात्तिक २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा परेको सहायक मतदान अधिकृत नगेन्द्रकुमार कालाखेतीले बताउनु भयो । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता २०७९ को परिच्छेद ३ को ५ (क) अनुसार स्थानीय तहका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा  विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नहुने उल्लेख गरिएको छ ।  त्यस्तै (ख) मा वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेक अन्य कार्यक्रम गर्न वा नयाँ नीति योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न वा सञ्चालन गर्न नहुने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ । निर्वाचन आचारसंहिता अनुगमन समितिले कारबाही प्रक्रिया अगाडी बढाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा कात्तिक २८ गतेसम्म पाँच ओटा लिखित उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ का जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा लिखित उजुरी परेका मध्ये तीन जनाले स्पष्टीकरण पेश गरेको आचारसंहिता अनुगमन अधिकृत यज्ञराज उप्रेतीले बताउनु भयो । उजुरी परेका सबैजनालाई स्पष्टीकरण सोधिएको भएपनि दुई जनाले भने स्पष्टीकरण बुझाउन बाँकी छ । उजुरी परेका पाँचमध्ये दुई जनाले निर्वाचन आचारसंहिता विपरित सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका छन् । दुई जना कर्मचारीले उम्मेदवारलाई भोट मागेको पाइएको छ । एक ओटा उजुरी निर्वाचन आचारसंहिता विपरित कर्मचारी भर्ना गरिएको भनिएपनि अनुगमनको क्रममा त्यस्तो नपाइएको अनुगमन अधिकृत उप्रेतीको भनाइ छ । फोनबाट मौखिक उजुरी आएका १० जनालाई पनि स्पष्टीकरण सोधिएको आचारसंहिता अनुगमन अधिकृत उप्रेतीको भनाइ छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रहरीले सुक्ष्म रूपमा आचारसंहिता पालना भए नभएकोबारे निगरानी गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयमा जिल्ला निर्वाचन कार्यालयमा दुई ओटा उजुरी परेको निर्वाचन कार्यालयले जनाएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन आचारसंहिता उल्लङ्घन सम्वन्धी दुई ओेटा उजुरी परेको छ । आचारसंहिता विपरित चुनावी कार्यक्रम गरेको भन्दै माओवादी केन्द्रका नेता जमानसेर राईले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लिलाकुमार चौहानसहित १० जना विरूद्ध कारबाहीका लागि उजुरी दिनु भएको छ । वडा कार्यालयको प्राङ्गणमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ अन्नपूर्ण माध्यमिक विद्यालय बन्द गराएर शिक्षक र विद्यार्थीलाई सहभागी गराएर एमालेको चुनावी कार्यक्रम गरेको भन्दै वडाध्यक्ष चौहान, वडासदस्य पदमकुमारी राई, हरिकुमार खत्री, फडिन्द्र श्रेष्ठ, लक्ष्मी बिक, अन्नपूर्ण माविका प्रअ रेखादेवी बस्नेत, शिक्षक गोपाल राउत, शिक्षक रामकुमारी राई, श्यामकुमार फुयाल र शहरी स्वास्थ्य केन्द्रका अहेव सुशिला देउजाविरूद्ध कारवाहीका लागि उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेले शिक्षकमार्फत चुनावी कार्यक्रम सञ्चालन गरेको उजुरीमा दाबी गरिएको छ । एमालेले कात्तिक १८ गते दोर्पाचिउरीडाँडामा प्रदेशसभा उम्मेदवार रामप्रसाद दङ्गाल, नेतृ उषाकला राई, नेता दीपनारायण रिजाललगायतको उपस्थितिमा चुनावी कार्यक्रम गरेको उजुरीमा उल्लेख छ । एमालेका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारविरूद्ध निर्वाचन आचारसंहिता विपरित सामाजिक सञ्जाल र अनलाइनमा भ्रामक, कपोलकल्पित, वैयक्तिक लाञ्छनायुक्त एवम् दुराग्रहपूर्ण प्रचारसामग्री राखेर प्रचार–प्रसार गरेको भन्दै एमाले नेता देवबिक्रम राईले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनु भएको छ । उजुरीमा दोषीलाई आवश्यक कानुनी कारबाही अगाडि बढाउन माग गरिएको छ । कात्तिक १५ गते दिइएको उजुरीमा ‘प्रमाणका लागि त्यस्ता सामग्रीहरुको छायाँप्रति निवेदनका साथ संलग्न गरिएको’ भनिए पनि व्यक्तिको नाम उल्लेख गरिएको छैन । उजुरीका बारेमा कोलेनिका प्रमुख एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मानबहादुर मगरमार्फत छानविन भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले कात्तिक २८ गते इन्सेक प्रतिनिधिलाई बताउनु भयो । उजुरी परेको आधारमा सामाजिक सञ्जालमा राखिएका सामग्री हटाउन लगाउने, जवाफ माग गर्नेदेखि थप छानविनका लागि निर्वाचन आयोग समक्ष सिफारिस गर्ने लगायतका प्रक्रिया अघि बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ आचारसंहिता विपरितका लिखित उजुरी जिल्ला निर्वाचन कार्यालयमा नपरेपनि मौखिक उजुरी भने आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा भाग लिएका राजनीतिक दल र उम्मेदवारहरूका तर्फबाट आचारसंहिता उल्लङ्घन भएको भनेर मौखिक उजुरी आएपनि लिखित उजुरी नपरेको आचारसंहिता अनुगमन समितिका संयोजक ध्रुव कार्कीले बताउनु भयो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति एकसाता बाँकी रहँदा आचारसंहिता उल्लङ्घनका भनेर दैनिक दुई ओटासम्म फोन तथा भाइवर, वाट्स एपबाट उजुरी आउने गरेको अनुगमन समिति संयोजक कार्कीले बताउनु भयो । तर, कात्तिक २८ गतेसम्म जम्मा कति उजुरी आए भन्ने बारे तथ्याङ्क नराखेको अनुगमन समितिका संयोजक कार्कीको भनाइ छ । उल्लङ्घनको उजुरी आएपछि फोनबाट त्यस्तो कार्य नगर्न अनुरोध गर्ने गरिएको र त्यसपछि पुन उजुरी नआएको उहाँले बताउनु भयो । जिल्लामा राजनीतिक दल र उम्मेदवारले चुनावी प्रचारलाई तीव्र बनाएसँगै आचारसंहिता उल्लङ्घन सामान्य रूपमा भएको पाइएको कार्कीको भनाइ छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेर विभिन्न ठाउँमा तुल, ब्यानर, दलका चुनाव चिन्ह, झण्डा राख्ने गरेको उजुरी मौखिक आएको र फोन गरेर तत्काल हटाउन निर्देशन दिएको जिल्ला निर्वान कार्यालयले जनाएको छ ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन जारी आचारसंहिता ०७९ उल्लङ्घन गरेको आरोपमा जिल्ला निर्वाचन कार्यालयमा तीन ओटा उजुरी परेको छ । निर्वाचन प्रचारप्रसारका क्रममा फाल्गुनन्द गाउँपालिकाको प्राङगणमा गठवन्धन दलको चुनावी आमसभा गरिएको, निर्वाचन प्रचारप्रसारमा सरकारी विद्यालयका स्थायी शिक्षक परिचालित भएको र समुदायमा रहेका क्लबलाई फुटबललगायतका सामाग्री वितरण गरिएको सम्बन्धी छुट्टैछुट्टै उजुरी दर्ता भएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताउनु भयो । नेकपा एमालेको तर्फबाट उजुरी दर्ता भएको र सो उपर कात्तिक २८ गते कारबाही प्रक्रियामा जाने मुख्य निर्वाचन अधिकृत दाहालले बताउनु भयो । गठवन्धनसम्बद्ध राजनीतिक दलहरूले गरेको उक्त कार्य निर्वाचन आचरसंहिताको दफा ४ को (ग) दफा १० को (ग) र (छ¬¬) विपरित हुने बमोजिम छ ।

Photo 20221114 Pacthar (1)

Photo 20221114 Pacthar (2)

Photo 20221114 Pacthar (3)

Photo 20221114 Pacthar (4)

Photo 20221114 Pacthar (5)

अन्य

भिडियो