INSEC Online

📅 २०८३ जेष्ठ २१

उम्मेदवारबीच साँचो अर्थमा प्रतिस्पर्धा हुनु पर्नेमा जोड

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारबीच साँचो अर्थमा प्रतिस्पर्धा हुनुपर्नेमा एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले निर्वाचन पूर्वका अवस्था सम्बन्धमा ०७९ कात्तिक २६ गते रुकुम पश्चिममा आयोजित संचारकर्मीसँगको छलफल कार्यक्रमका सहभागिहरूले उक्त कुरामा जोड दिनु भएको हो ।

कार्यक्रममा इन्सेकका पूर्व महासचिव तथा त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा. कुन्दन अर्यालले निर्वाचनमा व्यक्तिले स्वतन्त्र रुपमा मतदान गर्ने व्यवस्था हुनुपर्ने बताउनु भयो ।

इन्सेकका पूर्व महासचिव डा. अर्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन संचारकर्मी तथा अधिकारकर्मीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । पर्यवेक्षकले यथार्थ बस्तुस्थितिको अध्ययन गरी तथ्यमा आधारित प्रतिवेदन ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । निष्पक्ष पर्यवेक्षणबाट आएको निचोडले निर्वाचन निष्पक्ष र स्वतन्त्र हुन मद्दत पुग्ने उहाँको विश्वास थियो ।
पर्यवेक्षकले पर्यवेक्षण गर्दा निर्वाचनका विषयमा सीमित क्षेत्रमा रहेर गर्न नहुने अर्यालले सुझाव दिनु भएको छ ।

कार्यक्रममा इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले निर्वाचनमा भएका कमी कमजोरीलाई सुधार गरी आगामी निर्वाचनमा त्यस्ता कमजोरी हुन नदिन इन्सेकले आम निर्वाचन २०४८ देखि पर्यवेक्षण गर्दै आएका जानकारी दिनु भएको छ ।

पत्रकार महेश केसीले गठबन्धनका कारण रुकुम पश्चिममा विगतका निर्वाचनको तुलनामा शान्तिपूर्ण भएको बताउनु भयो । यस पटकको निर्वाचनमा निर्वाचन आयोगले जसरी आचारसंहिता लगायतका विषयमा कडाई गरेको छ यसको निरन्तरता हुनुपर्नेमा पत्रकार केसीले जोड दिनु भयो ।

निर्वाचन वहिष्कार गर्ने समूहले जिल्लामा वहिष्कार अभियान चलाएका कारण निर्वाचनका दिन केही छिटपुट घटना हुन सक्ने कार्यक्रमका सहभागि संचारकर्मीले बताउनु भएको थियो ।

छलफलमा पत्रकारहरूले गएको स्थानीय तहको निर्वाचनजस्तो दैनिकजसो घटना यसपटक नभएको र राजनीतिक दलले शान्तिपूर्ण तरीकाले आफ्ना गतिबिधिहरु संचालन गरेको जानकारी गराएका थिए ।

रुकुम पश्चिम जिल्लाको सन्दर्भमा मतदाता शिक्षा प्रभावकारी नभएको पत्रकार महासङ्घ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले बताउनुभयो । मतदाता शिक्षा संचालन गर्ने जिम्मा स्थानीय तहलाई भएको र स्थानीय तहहरूले मतदाता शिक्षा प्रभावकारी ढङ्गले संचालन गर्न नसकेको उहाँको भनाई छ । त्यसैगरी शिक्षक तथा निजामति कर्मचारीहरुले निर्वाचन आचार संहिताको ख्याल नगरी सामाजिक संजालबाट दलबिशेषको प्रचार गरिरहेको सहभागी पत्रकारहरुको भनाई थियो ।

अनुगमन टोलीले सल्यान जिल्लाको थारमारेमा गठबन्धनबाट निर्वाचन प्रचारप्रसारका क्रममा आयोजित कोण सभाको अनुगमन गरेको थियो । निर्वाचन विषेश सभामा देखाइएको साँस्कृतिक कार्यक्रममा बालबालिकाको प्रयोग भएको पाइएको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी गराउनु भएको छ ।

अनुगमनका क्रममा निर्वाचन पूर्वको अवस्था सम्बन्धमा अनुगमन टोलीले मतदातासँग पनि छलफल गरिएको प्रदेश संयोजक सुवेदीले जानकारी गराउनु भयो ।

PhotoRukum20221112 (1) PhotoRukum20221112 (2) PhotoRukum20221112 (3) PhotoRukum20221112 (4)

 

अन्य

भिडियो