विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत राजविराजको विभिन्न स्थानमा राखेको प्रचार सामाग्री निर्वाचन कार्यालयले कात्तिक २३ गतेदेखि हटाउन सुरू गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बजार क्षेत्रमा राखिएका प्रचार सामाग्री हटाइएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै दलका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरीत प्रचार सामग्रीको प्रयोग गरेका घटना बढेपछि निर्वाचन कार्यालयले त्यस्ता सामग्री हटाउन सुरू गरेको हो ।
जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयको अगुवाइमा नेपाल प्रहरी सशस्त्र प्रहरी, म्यादी प्रहरीसहितको टोलीले प्रचार सामाग्री हटाउन थालेको हो ।

मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले शहरको स्वरुप नै बिग्रनेगरी आचारसंहिता विपरीत प्रचार सामाग्री राखिएको उजुरी बढेपछि हटाउने अभियान सुरू गरेको जानकारी दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सर्वदलीय बैठकमा आचारसंहिता पालना गर्ने लिखित प्रतिबद्धता गरिएको भएपनि अटेर गरेका कारण आफैँले अभियान चलाउनु परेको बताउनु भयो ।
टोलीले सार्वजनिक स्थान, चोक, बिजुलीका पोलहरुमा झुण्याइएको फ्लेक्स, पोस्टर, ब्यानर, झण्डाको तोरण, पोष्टरहरू हटाएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेतृत्वको टोलीमा एसपी अविनारायण काफ्ले, अनुमगमन अधिकृत शरणहरी लुइटेल, जिल्ला निर्वाचन अधिकारी रमेश जोशी लगायत थिए ।

निर्वाचन आचार संहिता २०७९ मा धार्मिक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतका कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँग्न निषेध गरिएको छ ।
निर्वाचनमा होमिएका सप्तरीका अधिकाँश दलले निर्वाचन आचार संहिता उल्लङ्घन गर्दै अस्पताल, मन्दिर, सरकारी कार्यालय, चोक, पार्क र अधिकाँश बिजुलीको खम्बामा प्रचार प्रसार सामाग्री टाँगेका छन् ।