INSEC Online

📅 २०८३ जेष्ठ २१

कैदी बन्दी तथा वृद्धा आश्रममा रहेका मतदाताले मतदान गर्न पाउने

कर्णाली प्रदेशका विभिन्न जिल्लाका कारागारमा रहेका कैदी बन्दीले कारागार भित्रै मतदान गर्न पाउने भएका छन । कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गा चालिसेका अनुसार कर्णाली प्रदेशका नौ जिल्लामा रहेका जिल्ला कारागारका मतदाता परिचय पत्र भएका कैदी बन्दीले कारागार भित्रै मतदान दिन पाउने भएका हुन । यो व्यवस्था यस अघिको निर्वाचनमा थिएन । कैदी बन्दी तथा वृद्धा आश्रममा रहेका मतदाताले मतदान गर्न पाउने सम्बन्धमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्राप्त समाचार यस प्रकार रहेको छ ।

डोल्पा जिल्ला प्रतिनिधि विष्णु देवकोटाका अनुसार जिल्ला कारागारका १४ जना कैदी बन्दीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने भएका छन ।

विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका १९ जना कैदीबन्दी र एक जना थुनुवा गरी २० जना कैदीबन्दी मध्ये मतदाता परिचय–पत्रका आधारमा १४ जनाले मात्र मतदान गर्न पाउने भएका हुन ।

कारागारमा कैद भुक्तान गरिरहेका र डोल्पा जिल्लामै मतदाता नामावली भएका १४ जनालाई मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी रामबहादुर सार्कीले जानकारी दिनु भएको छ ।
जिल्ला कारागार डोल्पामा रहेका २० जना कैदीबन्दी सबै पुरुष रहेको र महिला कैदीबन्दी नभएको जिल्ला कारागार प्रमुख दिर्घराज रोकायाले बताउनु भएको छ ।

उहाँले भन्नु भयो निर्वाचनमा सबै कैदीबन्दीको मतदाता नामावली परिचय–पत्र र नागरिकता पठाइएकोमा आयोगले सबैको रुजु गरेर १४ जनाले मात्र मतदान गर्न पाउने भएको जानकारी दिनु भएको छ ।

कानूनले नै व्यवस्था गरे अनुसार मतदाता परिचय—पत्र भएका निजामति कर्मचारी विभिन्न निकायका सुरक्षाकर्मी गरी ५ सय २६ जनाले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय, डोल्पाले जनाएको छ ।

सुर्खेत जिल्ला प्रतिनिधि प्रभा कुमारी रावतका अनुसार मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सुर्खेत कारागारका १ सय १ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।

कैदीबन्दीहरूका लागि कारागारमै अस्थायी मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन अधिकारी दुर्गा चालिसेले बताउनुभयो । मतदान केन्द्रबाट कैदीबन्दीका साथै निर्वाचनमा खटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीहरूले मतदान गर्न पाउने छन ।

उनीहरूले समानुपातिकतर्फको सङ्घमा मात्रै मत हाल्न पाउने भन्दै कारागारमै मतदान केन्द्रको व्यवस्था मिलाइने निर्वाचन अधिकारी चालिसेले बताउनु भएको छ ।
यस्तै वीरेन्द्रनगर नपास्थित प्रश्रान्ती बृद्धाआश्रममा रहेका पाँच जना ज्येष्ठ नागरिकलाई पनि मताधिकारको व्यवस्था मिलाइएको उहाँको भनाई छ । सुर्खेतमा १ सय १ कैदीबन्दी सहित करिब ३ हजार २ सय २८ अस्थायी मतदाता रहेका छन् ।

निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मीले भने सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्न पाउने भएका छन । कैदीबन्दी, सुरक्षाकर्मी र निजामति कर्मचारीले प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउने छन् ।

सुर्खेतमा दुई ओटा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ भने २ सय ९३ केन्द्र र १ सय ३९ मतदानस्थल कायम गरिएको छ ।

निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले आन्तरिक तयारीलाई तिव्र बनाएको छ । मतपत्र र निर्वाचन सामग्री जिल्लामा पुगिसकेको छ । निर्वाचन अधिकारी चालिसेका अनुसार सुर्खेतको वीरेन्द्रनगर नपामा १० ओटा अपाङ्गता मैत्री नमुना मतदान केन्द्र बनाउने तयारी भइरहेको छ ।

दैलेख जिल्ला प्रतिनिधि अमर सुनार का अनुसार दैलेख कारागारमा १ सय २६ जना कैदी–बन्दी भए पनि ६३ जनाले मात्र संघीय संसद प्रतिनिधिसभा सदस्य पदका लागि समानुपातिक तर्फको मतपत्रमा मत दिन पाउने भएका छन् ।
फौजदार कसूरको अभियोग लागेर कारागार पर्नु अघि घरमा छँदै मतदाता ऐन २०७३ को दफा २० अनुसार फोटो सहितको मतदाता नामावली भरेकाहरुले मात्र मतदान गर्न पाउने कानूनी व्यवस्था अनुसार सबै कैदीबन्दीले नदिइएको निर्वाचन कार्यालय दैलेखले जनाएको छ ।
फोटो सहितको मतदाता नामावली भरेकाहरुले आफ्नो मतदाता परिचयपत्र समेत पठाएको आधारमा ऐनको दफा ३० अनुसार दैलेख कारागारका ६३ जनाको नाम अस्थायी मतदाता नामावली कायम गरी पठाइएको निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिनुभयो ।

रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा के.सी.का अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न रुकुम (पश्चिम)  कारागारबाट ६६ जना कैदी बन्दीको नाम निर्वाचन कार्यालयमा पठाइएको छ ।
रुकुमपश्चिम कारागारमा रुकुम पूर्वमा कारागार नभएका कारण रुकुम पूर्व जिल्लाका कैदीबन्दीलाई पनि राखिँदै आएको छ । जिल्ला कारागार रुकुम पश्चिमका प्रमुख अकबिर घर्तीले आगामी मंसिर ४ गते निर्वाचनमा रुकुमपश्चिम र पूर्व गरि ६६ जना कैदीबन्दीले मतदान गर्न पाउने भएको जानकारी गराउनु भयो । रुकुम पश्चिम कारगारमा हाल १ सय २४ जना कैदिबन्दी रहेको कारागार प्रमुख घर्तीले जानकारी दिनुभयो । जसमध्ये पुरुष १ सय १५ जना र महिला नौ जना रहेका छन्, जसमध्य ६६ जना कैदीबन्दीले मात्र मतदान गर्न पाउने भएका हुन् ।

जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावल का अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा जुम्ला कारागारका १ सय ७ जना कैदीवन्दी मध्ये १४ जनाले मतदान गर्न पाउने भएका छन् । नेपाल सरकारले कैदीवन्दीले पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरेपछि मतदान गर्न पाउने भएका हुन् । मतदाता नामावली भएका १४ जना सवै पुरुष छन् ।

कैदीवन्दीको मताधिकार प्रयोग गर्नका लागि कारागारमा अस्थायी मतदान व्यवस्थापन गरिएको जेलर विष्णुबहादुर महतले बताउनु भयो । उहाँले भन्नुभयोे कैदीवन्दीले समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने व्यवस्था छ । यस अघि ०६४ को निर्वाचनमा पनि कैदीवन्दीले मतदान गरेका थिए । १ सय २० जना पुरुष र ८० जना महिला गरी २ सय व्यक्ति रहने क्षमताको कारागार रहेको छ ।

जाजरकोट जिल्ला प्रतिनिधि दिनेश श्रेष्ठ अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कारागार का ५२ जना कैदीवन्दी तथा थुनुवा मध्ये ३२ जनाले मतदान गर्न पाउने भएका छन् । नेपाल सरकारले कैदीवन्दीले पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरेपछि मतदान गर्न पाउने भएका हुन् । मतदाता नामावली कायम रहेका ३२ जनाको नाम मात्रै भएकाले भोट हाल्न पाउने र बाँकी कैदीवन्दी तथा थुनुवाहरुको मतदाता नामवलीमा नाम नभएकाले मतदानमा सहभागि हुन नपाउने जिल्ला कारागार कार्यालयका प्रमुख चन्द्र बहादुर गिरीले जानकारी दिनु भयो ।

कालिकोट जिल्ला प्रतिनिधि काली बहादर मल्ल का अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कारागार का ५० जना कैदीवन्दी मध्ये २३ जनाले मतदान गर्न पाउने भएका छन् । नेपाल सरकारले कैदीवन्दीले पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरेपछि मतदान गर्न पाउने भएका हुन् । मतदाता नामावली कायम रहेका २३ जनाको नाम मात्रै भएकाले भोट हाल्न पाउने र बाँकी कैदीवन्दी तथा थुनुवाहरुको मतदाता नामवलीमा नाम नभएकाले मतदानमा सहभागि हुन नपाउने जिल्ला कारागार कार्यालयका प्रमुख नर बहादुर मिजारले जानकारी दिनु भयो ।

सल्यान जिल्ला प्रतिनिधि मिना बुुढाथोकी का अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कारागार का १२६ जना कैदीवन्दी मध्ये १८ जनाले मतदान गर्न पाउने भएका छन् । नेपाल सरकारले कैदीवन्दीले पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरेपछि मतदान गर्न पाउने भएका हुन् । मतदाता नामावली कायम रहेका १८ जनाको नाम मात्रै भएकाले भोट हाल्न पाउने र बाँकी कैदीवन्दी तथा थुनुवाहरुको मतदाता नामवलीमा नाम नभएकाले मतदानमा सहभागि हुन नपाउने जिल्ला कारागार कार्यालयका प्रमुख राजन कडेलले जानकारी दिनु भयो ।

हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंह का अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा कारागार का १८ जना कैदीवन्दी मध्ये १७ जनाले मतदान गर्न पाउने भएका छन् । नेपाल सरकारले कैदीवन्दीले पनि मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरेपछि मतदान गर्न पाउने भएका हुन् । मतदाता नामावली कायम रहेका १७ जनाको नाम मात्रै भएकाले भोट हाल्न पाउने र बाँकी कैदीवन्दी तथा थुनुवाहरुको मतदाता नामवलीमा नाम नभएकाले मतदानमा सहभागि हुन नपाउने जिल्ला कारागार कार्यालयका प्रमुख ईन्द्रा खरेलले जानकारी दिनु भयो ।

अन्य

भिडियो