INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– प्रदेश १ का लागि ४० लाख थान बढी मतपत्र प्राप्त

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेशमा ४० लाख थान बढी मतपत्र प्राप्त भएको छ ।

प्रदेश १ मा रहेका १७ लाख २९ हजार ७ सय ७२ जना पुरूष, १६ लाख ६७ हजार ७१ जना महिला र २२ जना अन्य गरी ३३ लाख ९६ हजार ८ सय ३५ जना मतदाताका लागि ४० लाख थान बढी मतपत्र प्राप्त भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेश १ मा निर्वाचन क्षेत्र प्रदेशसभातर्फ ५६ र प्रतिनिधिसभातर्फ २८ छन् । मङ्सिर ४ गतेको निर्वाचनबाट प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ जना गरी ९३ जना सांसद निर्वाचन हुने छन् ।

मङ्सिर ४ गते हुने निर्वाचनका लागि प्रदेश १ मा १ हजार ८ सय ९७ ओटा मतदानस्थल र ४ हजार ९९ ओटा मतदान केन्द्र कायम गरिएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत लेवनकश्यप अधिकारीले बताउनु भयो ।

photo 20220909 Morang

ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा प्रत्यक्षतर्फ र समानुपातिकतर्फका लागि ९८÷९८ हजार मतमत्र प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । समानुपातिकतर्फ प्रदेश नं. क मा ५५ हजार र ख मा ४५ हजार थान मतपत्र प्राप्त भएको सहायक मतदान अधिकृत शम्भुप्रसाद रेग्मीले बताउनु भयो । प्रत्यक्षतर्फ प्रदेश क मा ५४ हजार थान र ख मा ४४ हजार थान मतपत्र प्राप्त भएको रेग्मीले बताउनु भयो । एक प्रतिनिधिसभासहित दुई ओटा प्रदेशसभामा ८८ हजार २ सय ८५ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये प्रदेशसभा ‘क’ निर्वाचन क्षेत्रमा ४८ हजार ७ सय ६१ जना मतदाता छन् । प्रदेशसभा निर्वाचन ‘ख’ मा ३९ हजार ५ सय २४ मतदाता छन् । निर्वाचनका लागि जिल्लामा ७५ ओटा मतदानस्थल र १ सय २३ ओटा मतदान केन्द्र तोकिएको छ । दुई ओटा अस्थायी मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ । फुङलिङ नगरपालिका–७ तोक्मेडाँडा र कारागारमा अस्थायी मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ । निर्वाचन कार्यालय निर्वाचन अधिकारी दिनेश खनालका अनुसार तोक्मेडाँडा र कारागारमा अस्थायी मतदान केन्द्र थप गर्न आयोगसमक्ष सिफारिस गरिएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन काकीका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन लागि जिल्लामा १ लाख ३० हजार थान मतपत्र प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लमा एक प्रतिनिधिसभा र  दुई ओटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फ १ लाख ३० हजार थान मतपत्र प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा (१) का लागि ६५ हजार थान र प्रदेशसभा (२) तर्फ ६५ हजार थान मतपत्र आएको मुख्य निर्वाचन अधिकृत टेकनाथ गौतमले बताउनु भयो । प्रतिनिधिसभा सामानुपातिक तर्फ १ लाख ३४ हजार थान मतपत्र प्राप्त भएको निर्वाचन अधिकृत गौतमले बताउनु भयो । प्रदेशसभा (१) मा ६७ हजार थान र प्रदेशसभा (२) मा ६६ हजार थान मतपत्र प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १ लाख १७ हजार ५ सय ५४ जना मतदाता छन् । १ हजार ४ सय ३ जना अस्थायी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा मङ्सिर ४ गतेको निर्वाचनका लागि १ सय ३ ओटा मतदानस्थलमध्ये आठ ओटा मतदानस्थल सुरक्षा सम्वेदनशीलताका हिसाबले अति सम्वेदनशील, ८२ ओटा मतदानस्थल सम्वेदनशील र १८ ओटा मतदानस्थललाई सामान्यको सूचीमा राखिएको छ ।

सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा १ लाख ८० हजार थान भन्दा बढी मतपत्र प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी निर्वाचन आयोगले पठाएको मतपत्र जिल्ला आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीका अनुसार जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९० हजार थान र प्रदेश सभातर्फका लागि ९१ हजार थान मतपत्र प्राप्त भएको छ । कारागारका कैदीबन्दी र निर्वाचनमा नखटिएका कर्मचारीहरूका लागि २ हजार थान समानुपातिक मतपत्र प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालितर्फको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य समानुपातिकतर्फको १ लाख ८१ हजार थान मतपत्र प्राप्त भएको छ । निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मसी र छेकाबार लगायत सबै सामग्रीहरू जिल्लामा प्राप्त भएको निर्वाचन कार्यालयले जनाएको छ । आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि जिल्लामा १ सय २२ ओटा मतदानस्थल र १ सय ३६ ओटा मतदान केन्द्र तोकिएको छ । जिल्लामा ८१ हजार ५ सय २ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि जिल्लामा २ लाख ६१ हजार मतपत्र आएको छ । जिल्लामा समानुपातिक बाहेक प्रतिनिधि र प्रदेशसभाका लागि कात्तिक १९ गते आयोगले पठाएको २ लाख ६१ हजार थान मतपत्र प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले बताउनु भयो । जिल्लामा समानुपातिक तर्फका लागि २ लाख ६४ हजार मतपत्र आएको छ । निर्वाचको तयारीसँगै मतदान सामाग्री मतदानस्थलमा पुर्याउन थालिएको अधिकारी न्यौपानेले बताउनु भयो । जिल्लाको २ ओटै निर्वाचन क्षेत्रमा पठाउने मतपत्र प्याक गर्ने, सिल गर्ने लगायतका काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चुनावका लागि प्रत्येक मतदान केन्द्रमा पठाइने मतपत्र र आवश्यक विभिन्न सामाग्रीहरू कर्मचारीलाई तालिमपछि हस्तान्तरण गरिनेछ । मङ्सिर ४ गते हुने निर्वाचनमा जिल्लामा १ लाख १७ हजार ८ सय ९७ जना मतदाताले मतदान गर्नेछन् । जसमा ५९ हजार ८ सय १५ जना पुरूष र ५८ हजार ८१ जना महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार प्रतिनिधिसभा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि ५ लाख १६ हजार मतपत्र आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकका लागि गरेर चार प्रकारका मतपत्र आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा एक प्रकारको मतपत्र १ लाख २९ हजार आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा १ लाख १६ हजार ९ सय ९१ जना मतदाता छन् । मतदाता भन्दा केही बढी मतपत्र आएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी राजन बास्तोलाले बताउनु भयो । आएका पतपत्रमा केही बिग्रिएको हुने भएकाले मतदाता सङ्ख्या भन्दा केही बढी मतपत्र आएको बास्तोलाको भनाइ छ । जिल्लामा मङ्सिर ४ गतेको निर्वाचनका लागि १ सय १९ ओटा मतदानस्थल र १ सय ६२ ओटा मतदान केन्द्र तोकिएको छ ।

पाँचथर प्रतिनिधि सहमान विश्वकर्माका अनुसार मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा ६ लाख २१ हजार थान मतपत्र प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि जिल्लामा प्रत्यक्षतर्फ र समानुपातिक तर्फको गरी ६ लाख २१ हजार मतपत्र प्राप्त भएको सहायक निर्वाचन अधिकृत विश्वजङ्ग सिजापतिले बताउनु भयो । कात्तिक २० गते प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको १ लाख ५३ हजार थान मतपत्र, प्रत्यक्षतर्फ क्षेत्र नं. १ का लागि ८३ हजार थान मतपत्र र क्षेत्र नं.२ का लागि ७२ हजार थान मतपत्र र अस्थायी मतदाताका लागि प्रतिनिधिसभाको समानुपातिक तर्फको ५ हजार थान मतपत्र प्राप्त भएको सिजापतिले बताउनु भयो । समानुपातिक तर्फको प्रतिनिधिसभाका लागि १ लाख ५३ हजार थान मतपत्र, क्ष्ोत्र नं. १ का लागि ८३ हजार थान मतपत्र र क्षेत्र नं.२ का लागि ७२ हजार थान मतपत्र प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा प्रतिनिधि सभाका लागि १ र प्रदेश सभाका लागि दुई ओटा निर्वाचन क्षेत्र छ । जिल्लामा १ सय २ ओटा मतदानस्थल र १ सय ७७ ओटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लामा ७३ हजार ३ सय ६६ जना पुरूष मतदाता र ६५ हजार ५ सय ६६ जना महिला मतदाता गरी १ लाख ३८ हजार ९ सय ३२ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

अन्य

भिडियो