बलात्कार घटनाका पीडित दैलेख जिल्ला भगवतीमाई गाउँपालिका घर भई हाल सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आउनु भएकी एक जना २३ वर्षीया पीडितलाई कानुनी प्रकृयामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णालीप्रदेश कार्यालय, सुर्खेतले ०७९ कात्तिक २४ गते दुई हजार पाँच सय रुपियाँ सहयोग गरेको छ ।
आर्थिक अवस्था कमजोर भई न्यायिक प्रकृयामा जान नसकेको भन्दै पीडितले असोज ७ गते मानव अधिकार सहायता कक्षमा सहयोगका लागि निवेदन दिनु भएको थियो । पीडितको निवेदन सम्बन्धमा मानव अधिकार सहायता कक्षको कात्तिक १५ गते बसेको निर्णय अनुसार पीडितलाई सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनु भएको छ ।
पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी, यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको प्रदेश संयोजक सुवेदीले जानकारी दिनु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं –१० पञ्चकोशी होटलमा वस्ने ३५ वर्षिया सुमन थापाले जागिरका विषयमा कुरा गर्ने भनी ०७८ मंसिर ४ गते वीरेन्द्रनगरको निरुता होटलमा लिएर लागु पर्दाथ सेवन गर्न लगाई जबरजस्ती करणी गरेको पीडितले आरोप लगाउनुु भएको छ ।
आफ्नो बुवा बैंकमा म्यानेजर हुनुहुन्छ जागिर लगाइदिन्छु भन्छु भन्दै पटक पटक आश्वासन देखाउने र २ लाख ८० हजार मागेको समेत जाहेरीमा उल्लेख छ । आवश्यक पैसा नपुगेपछी आमाको तीलहरी र मोवाइल समेत बुझाएको पीडितले बताउनु भएको छ । पीडितबाट लिएको नगद पैसा र तिलहरी माग गर्दा आलटाल गर्ने गरेको पीडितको गुनासो छ ।
पीडितलाई कानुनी प्रकृयामा लैजादा आवश्यक पर्ने थप सहयोगका लागि इन्सेकले कात्तिक २३ गते सीमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) मा सिफारिस गरेको परियोजना संयोजक किरण पौडेलले जानकारी दिनु भएको छ ।