आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरले कार्तिक २३ गते नमूना मतदान सम्पन्न गरेको छ ।
मतदाता शिक्षालाई प्रभावकारी बनाउनका लागि बेलौरी नगरपालिका वडा नम्बर ६, बेलौरीमा र बेलडाँडीमा नमूना मतदान कार्यक्रम आयोजना गरिएको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले बताउनु भयो ।

महिला र पुरुषको छुट्टाछुट्टैै घेरामा मतदान गर्ने व्यवस्था गरिएको र मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, म्यादी प्रहरी परिचालन गरी बदर मत रोक्न र मतदाताहरुले सही तरिकाले आफ्नो मतको सदुपयोग गर्न जानुन भन्ने उद्धेश्यले नमूना मतदान कार्यक्रम आयोजना गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताउनु भयो ।

बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित महाकाली माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित नमूना मतदान कार्यक्रममा ३० जनाले मतदान गरेकामा २६ मत सदर र चार मत बदर भएको र बेलडाँडीमा आयोजना गरिएको नमूना मतदान कार्यक्रममा ६४ जनाले मतदान गरेकोमा ५६ मत सदर र आठ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी महराले बताउनु भयो ।

नमूना मतदानका क्रममा यति धेरै मत बदर भएको देखिनु निर्वाचनका लागि राम्रो सङ्केत नभएकोले मतदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि स्थानीय तहले थप पहल गर्नु पर्ने जिल्ला निर्वाचन अधिकृत जोशीले बताउनु भयो ।
