आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ को मिति नजिकिदै गएपछि निर्वाचन आचारसंहिता विपरितका गतिविधि बढ्न थालेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।
जिल्लामा राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरित सार्वजनिक स्थानहरूमा तोरण, व्यानर, झण्डा झुण्ड्याउन थालेका छन् ।
निर्वाचन अचारसंहिता विपरितको कार्य गर्ने दल र स्वतन्त्रका उम्मेदवारहरूबिच होडबाजी नै चलेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।
आचारसंहिताले तोके भन्दा ठूला साइजका फ्लेक्स, पोस्टर, ब्यानर, झण्डाको तोरण टाँगेर निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको इन्सेक अनुगमनका क्रममा पाइएको हो ।

सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन आचारसंहिता विपरित सुरक्षाकर्मी र सरकारी सवारीसाधन भोट माग्न प्रयोग गर्नु भएको छ ।
धार्मिक,साँस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल वा सार्वजनिक संस्थाको भवन लगायतका सार्वजनिक स्थानमा पर्चा टाँस्न र व्यानर झुण्ड्याउन मन्त्री कार्कीले कार्यकर्ता परिचालन गर्नु भएको अनुगमनका क्रममा फेला परेको छ ।
कार्की नेपाली कांग्रेसकातर्फबाट सुनसरी निर्वाचन क्षेत्र नं.४ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।
सोही क्षेत्रमा नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैत निर्वाचन आचारसंहिता विपरितका कार्य सक्रिय भएको पाइएको छ ।
कुसियैतले कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाका ऐतिहासिकस्थल वा सार्वजनिक स्थलको भवन, पर्खाल, सडक, खम्बामा प्रचारप्रसार सामाग्री टाँस गर्नु भएको छ ।
निर्वाचन आचारसंहिता ०७९ मा धार्मिक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायतका कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँग्न निषेध गरिएको छ ।
निर्वाचनमा होमिएका जिल्लाका अधिकांश दल तथा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै स्वास्थ्य संस्था, अस्पताल, मन्दिर, सरकारी कार्यालय, चोक, पार्क र बिजुलीको खम्बामा प्रचारप्रसार सामाग्री टाँस छन् ।
निर्वाचनका क्रममा आमसभा गरेको स्थल र समयमा बाहेक अन्य समय र स्थलमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने यन्त्रको प्रयोग गर्न आचारसंहिताले बन्देज लगाएको छ ।
तर, जिल्लामा डिजे बाजा, लाउडस्पिकरमा चुनावी गीत आदिको प्रयोग गरिएको छ । केही उम्मेदवारले भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गरेका छन् ।
उम्मेदवार र कार्यकर्ताहरू पार्टीको चुनाव चिह्न अङ्कित स्टिकर, व्याच, लोगो लगाएर आमसभा, जुलुस, घरदैलो, भेटघाटमा सहभागी भएको अनुगमनका क्रममा देखिएको छ । निर्वाचनमा होमिएका राजनैतिक दलका नेतासँगै मत माग्ने भेला बैठकमा कर्मचारी र शिक्षकहरू पनि संलग्न रहेको पाइएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित आर्दश आधारभूत विद्यालयका शिक्षक देवराम यादव नेकपा एमाले र जनता समाजवादी पार्टीको निर्वाचन भेलामा सहभागी भएर भोट मागेको पाइएको छ ।
निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको विषयमा कात्तिक २१ गतेसम्ममा सात जनासँग स्पष्टीकरण मागेको छ । केहीलाई सचेत गराएको छ ।
भोक्राहा नरसिंह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हिरा साहले नेपाली कांग्रेसका उम्मेदवारका लागि फेसबुकबाट मत लागेको स्टाटस हटाउन लगाएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताउनु भयो ।
भड्किलो प्रचार शैली नअपनाउन र आचारसंहिताको पालना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले बोलाएको सर्वदलीय बैठकमा दलका नेता, उम्मेदवार र प्रतिनिधिले प्रतिवद्धता जनाए पनि चुनावीप्रचारको चरणमा प्रवेश गर्नासाथ उम्मेदवारहरूले आचारसंहिता विपरितका गतिविधि गरेको पाइएको छ ।
मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले निर्वाचनको निष्ठालाई जोगाएर निर्वाचन आचारसंहिताको पालना गर्न सबैसँग आग्रह गर्नु भएको छ ।
अधिकारीले उल्लङ्घनको तथ्य फेला परेमा उम्मेदवारलाई आग्रह गर्ने, सावधान र सचेत गराउने तथा कारवाहीका लागि निर्वाचन आयोगमा सिफारिस गर्ने कार्य भएको बताउनु भएको छ ।


