खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर कात्तिक २३ गते गएको भूकम्पले सुदूरपश्चिम प्रदेशमा ६ जनाको मृत्यु, पाँच जना घाइते र भौतिक संरचनाहरुमा क्षति पुगेको छ । भूकम्पका कारण डोटी जिल्लामा ६ जनाले ज्यान गुमाउनु भएको छ भने पाँच जना घाइते हुनु भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर कात्तिक २३ गते विहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले बझाङ, डोटी र अछाम जिल्लामा मानविय र भौतिक क्षति पुगेको सम्बन्धीत जिल्ला प्रहरी कार्यालयले जनाएका छन् ।
इन्सेक डोटी प्रतिनिधि गणेश जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा कात्तिक २३ गते विहान २ बजेर १२ मिनेटमा आएको भूकम्पमा परी पुर्विचौकी गाउँपालिका–३ गैरागाउँका ६ जनाको मृत्यु भएको छ भने पाँच जना गम्भिर घाइते भएका छन् । भूकम्पमा परी मृत्यु हुनेमा पुर्विचौकी गाउँपालिका–३ गैरागाउँका ४० वर्षीय पे्रम बोहरा, १३ वर्षीया सीता बोहरा, ४० वर्षीया भगवती बोहरा, आठ वर्षीय हर्क बोहरा, १४ वर्षीया धनसरी बोहरा र १४ वर्षीया तुल्सा बोहरा रहनु भएको छ । घाइते हुनेमा सोही ठाउँका इन्नरीदेवि बोहरा, धौली बोहरा, विस्ना बोहरा, चना बोहरा र महाबिर बोहरा रहनु भएको छ । घाइतेहरुको डोटी जिल्ला अस्पतालमा उपचार भइरहेको भएपनि चना बोहरा र विष्ना बोहराको जिल्ला अस्पतालमा उपचार सम्भाव नभएपछि नेपाली सेनाको हेलिक्याप्टरबाट धनगढी रिफर गरिएको जिल्ला अस्पतालका डाक्टर निराजन श्रेष्ठले बताउनु भयो । भूकम्पका कारण पुर्विचौकी गाउँपालिका आठ, आदर्श गाउँपालिका तीन र सायल गाउँपालिका सात घरमा पुर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भोला भट्टले बताउनु भयो । भूकम्पमा परी भौतिक संरचना भत्तिएर च्यापियका पशु, चौपायाहरुको उद्धार भइरहेको पुर्बिचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिनु भयो । भूकम्प पीडितहरुको उद्धार र राहातका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मानव अधिकारकर्मी, रेडक्रस, राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकार र स्थानीयहरुले सक्रियता देखाएको अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो ।
इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका भूकम्पका कारण थलारा गाउँपालिकामा पाँच र छविसपाथिभेरा गाउँपालिकामा एक गरी ६ घरमा पुर्ण क्षति भएको छ भने ४० घरमा आंसिक क्षति भएका छ । । थलारा गाउँपालिका–९ सिरेटामा महोनराज जोशी, जौकला सिंह, हंसा चदारा, अपु नेपाली, विरबहादुर नेपाली र छविसपाथिभेरा गाउँपालिका–४ व्याँसीका डबल कामीको घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय, बझाङका इन्स्पेक्टर रमेशदत्त अवस्थीले बताउनु भयो । यसैगरीै थलारा गाउँपालिकाको सिरेटामा २५, केदारस्युँ गाउँपालिकामा चार, खप्तडछान्ना गाउँपालिकामा नौ घरमा आंसिक क्षति भएको समेत इन्स्पेक्टर अवस्थीले बताउनु भयो । जिल्ला कारागार, बझाङको भवनमा समेत आंसिक क्षति भएको छ । थलारा गाउँपालिका–९ सिरेटाका स्थानीय महोनराज जोशीले भूकम्पको त्रासले रातभर गाउँभरीका मानिस आगो बालेर खुल्ला चौरमा बसेको बताउनु भयो । भूकम्पले मानविय क्षति नभए पनि अधिकांस पुराना घरहरुमा क्षति पुर्याएको सामान्य जानकारी प्राप्त भएपनि विस्तृत विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इन्सेक अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार भूकम्पका कारण मानविय क्षति नभए पनि घर र सार्वजनिक संरचनाहरु भत्केका र चर्केका छन् । ढकारी गाउँपालिकामा दुई घरमा पूर्ण रुपमा क्षति पुगेको र जिल्ला प्रहरी कार्यालय, प्रमुख जिल्ला अधिकारी निवास, वैजनाथ, शान्तडा र भैरवस्थान प्रहरी चौकी समेत भूकम्पका कारण चर्केका जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाशसिंह विष्टले बताउनु भयो । उहाँले जिल्लाका अन्य भागमा पनि भूकम्पका कारण क्षति भएको जानकारी आउने क्रम रहेकोले अन्य क्षेत्रको क्षतिको विवरण संकलन भइरहेको बताउनु भयो । पटक पटक भूकम्प आएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ भने घर छाडेर खेत, गह्रा र सार्वजनिक स्थानमा त्रिपालका भरमा बस्न बाध्य भएका छन् ।
इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार भुकम्पका कारण मनविय क्षति नभएको भएपनि घर तथा सार्वजनिक संरचनामा क्षेति पुगेको छ । भएको जानकारी दिनुभएको छ । भूकम्पका कारण खप्तड छेडेदह गाउँपालिकामा तीन ओटा घरमा पूर्ण क्षति पुगको छ भने आठ ओटा घरमा आंसिक क्षति भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गिन्द्र बोगटीले जानकारी दिनु भयो । खप्तड छेडेदह गाउँपालिका–२ का पृथ्वी बम, खडक थापा, बिक्रम थापा र बुढिगंगा नगरपालिका–८ का खगेन्द्र खड्काको घरहरु पुर्ण रुपमा क्षति भएको र खप्तड छेडेदह गाउँपालिका–१ का पारुदेवी रावल, राज बहादुर रावल, मनदेवी रावल, शेर रावल, बिक्रम रावल, हस्त रोकाया, हिमाली गाउँपालिका–५ नन्दापाटाका जयरुप कार्कीको घरमा क्षति पुगेको र बुढिनन्दा नगरपालिका–९ स्थित सिद्धेश्वरी आवासिय माध्यामिक विद्यालयको प्रखालमा क्षति पुगेको इन्स्पेक्टर बोगटीले बताउनु भयो । यसैगरी बुढिगंगा नगरपालिका वडा नम्बर ६ अध्यक्ष हेमराज जैशीले वडा नम्बर ६ मा पाँच ओटा घरमा क्षति भएको बताउनु भएको छ । बुढिगंगा नगरपालिका–३ की तुलसी देवी दमाईको घर पनि पूर्ण रुपमा भत्किएको र टेलिफोन सम्पर्क हुन नसकेका कारण जिल्लाका अधिकांश ठाउँबाट विवरण नआएकोले क्षतिको विवरण बढ्न सक्ने इन्स्पेक्टर बोगटील बताउनु भयो ।

