निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अरुलाई गालीगलौज वा अरुको चरित्र हत्या नगरी आफ्ना राम्रा कुरा गरेर निर्वाचन प्रचारप्रसार गर्न दलका नेता र उम्मेदवारलाई पुनः आग्रह गर्नु भएको छ ।
मङ्सिर ४ गते हुने निर्वाचनका सन्दर्भमा टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठान र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक २० गते ललितपुरमा आयोजित नागरिक संवादमा उहाँले सो कुरा दोहोर्याउनु भएको हो ।
उहाँले भन्नु भयो-‘मैले त भन्दै आएको छु । १५ मिनेट आफू गतिलो छु भन्न १३ मिनेट अरुलाई गाली गर्ने र चरित्र हत्या गर्ने साहित्य कहाँ पढेर आउनु भयो नेताज्यू ?’
उहाँले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिबाट बचेर मत माग्ने र मत दिने वातावरण सिर्जना गर्न पनि आग्रह गर्नु भयो ।
कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्तद्वय भोजराज पोखरेल र सुर्यप्रसाद श्रेष्ठ, पूर्व निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, संविधानविद् नीलाम्बर आचार्यलगायतले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहितरुपमा सम्पन्न गराउनु पर्ने विचार राख्नु भएको थियो ।
इन्सेकका संस्थापक अध्यक्ष एवम् टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन नागरिक समाज, निर्वाचन आयोगलगायतका सरोकारवाला सबैले आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।
