आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता ०७९ विपरित जिल्लाका जनप्रतिनिधि चुनावी अभियानमा सक्रिय भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७९ जारी गरेको छ ।
सोही आचारसंहिताको परिच्छेद ३ को बुदाँ ‘ङ’ मा स्थानीय कार्यपालिका र सोका सदस्यलाई निर्वाचन आचारसंहिता लागु हुने व्यवस्था गरेको छ ।



निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहभित्र कुनै पनि दलका उम्मेदवारको पक्षमा मत माग्न रोक लगाएको छ । जनप्रतिनिधिलाई मत माग्ने कार्यक्रमलगायत चुनावी सभा समारोहमा समेत हिड्न प्रतिबन्ध लगाए पनि जिल्लाका केही जनप्रतिनिधि आचारसंहिता विपरितका गतिविधिमा संलग्न भएको इन्सेक अनुगमनका क्रममा पाइएको हो ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारी कार्की र महालक्ष्मी नगरपालिका कार्यपालिका सदस्य अम्बिका थापा निर्वाचित भएको स्थानीय तहमै नेकपा एमालेको चुनावी कार्यक्रमहरूमा सहभागी भएका छन् ।
चुनावी कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र राई, प्रदेश ‘ख’ का उम्मेदवार इन्द्रमणि पराजुलीलगायतको सहभागिता रहेको कार्यक्रममा प्रमुख तामाङ, उपप्रमुख कार्की र कार्यपालिका सदस्य थापा सहभागी भएको पाइएको छ ।
छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा र उपाध्यक्ष गीता खेवा गठबन्धनको कार्यक्रममा सहभागी भएका छन् । चुनावी कार्यक्रममा गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य सुनिलबहादुर थापा, प्रदेश ‘ख’ की उम्मेदवार माओवादी केन्द्रकी कुशुम श्रेष्ठलगायतको सहभागिता रहेको कार्यक्रममा अध्यक्ष सुब्बा र उपाध्यक्ष खेवा सहभागी हुनु भएको छ ।
स्थानीय तहका जनप्रतिनिधिले आफ्नो स्थानीय तहभित्रका कुनै चुनावी कार्यक्रममा सहभागी हुन समेत नपाइने र अर्को स्थानीयत तहको चुनावी कार्यक्रममा सहभागी हुन पाए पनि सरकारी स्रोत साधनको प्रयोग गर्न नपाइने व्यवस्था रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाका आचारसंहिता अनुगमन अधिकृत ध्रुव कार्कीले बताउनु भयो ।
उहाँले जिल्लामा आचारसंहिता उल्लङ्घनको विषयमा एउटा मात्रै लिखित उजुरी परेको र मौखिक उजुरी धेरै आएको बताउनु भयो ।
कार्कीका अनुसार जिल्लामा आचारसंहिता उलङ्घनका घटना फाट्टफुट्ट भएको पाइएको र त्यसलाई तत्काल आचारसंहिता अनुसारका काम गर्न निर्देशन दिइएको छ ।
गाडीमा झण्डा राख्ने, व्यानर बनाउने जस्ता घटना भेटिएको र तत्काल सच्याउन लगाएको लिखित उजुरी आएको हकमा लिखित रूपमा नै र मौखिक उजुरी आएको हकमा मौखिक रूपमा नै आचारसंहिता पालना गर्न निर्देशन दिइएको अनुगमन अधिकृत कार्कीको भनाइ छ ।
विशेष गरी जनप्रतिनिधिहरूले आचारसंहिता विपरित आफ्नो स्थानीय तहमा उम्मेदवारसँग भोट माग्ने दौडाहाका तस्वीरहरू सामाजिक सञ्जालमा राखिएको देखिए पनि उजुरी नपरेको भन्दै आचारसंहिता अनुगमन समिति मौन रहेको पाइएको छ ।