शारदा नपा–८ मार्केकी पार्वती विकको बुझाइमा पोषिलो खाना भन्नाले बच्चाको लागि बजारमा पाइने वस्तु हो । उहाँलाई घरमै उत्पादन गरिएको खाद्यान्न जस्तै हरियो सागपात, पहेँलो फलफुल, गेडागुडी, विभिन्न अन्न तथा गेडागुडी मिसाएको लिटो, जाउलो, अण्डा, माछामासु, दुध दही घिउको मात्रा मिलाएर बच्चालाई खुवाउनु पर्छ भन्ने बारे त्यति जानकारी छैन् । एकदुई पटक सुनेको भएपनि घरको खानाप्रति उहाँलाई त्यति विश्वास छैन ।
हरेक बच्चालाई स्वस्थ्य र तन्दुरुस्त राख्न खानपान नै मुख्य कुरा हो । सन्तुलित भोजनको अभाव, कम उमेरमा बच्चा जन्माउनु, गर्भवती र शिशुले स्याहारसुसार नपाउनु जस्ता कारणले जिल्लामा अझैपनि बालबालिकामा कुपोषण हट्न सकेको छैन । कतिपय अभिभावकले बच्चालाई सन्तुलित आहार खुवाउँदै आएको भएपनि कतिपय अभिभावकलाई अझै यस विषयमा जानकारी नै छैन् ।
ग्रामिण स्तरमा पोषणको विषयमा राम्ररी जानकारी नहुँदा सल्यानको ग्रामिण क्षेत्रका बालबालिकामा कुपोषणको समस्या अझै हट्न सकेको छैन् । सन्तुलित भोजनको अभाव, कम उमेरमा बच्चा जन्माउनु, गर्भवती र शिशुले स्याहार सुसार नपाउनु, चेतना स्तर माथि उठ्न नसक्नु लगाएतका कारणले जिल्लाको ग्रामिण क्षेत्रका बालबालिकामा कुपोषण अझै हट्न नसकेको हो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानको तथ्याङ्क अनुसार जिल्लामा बर्षेनी कुपोषित बालबालिकाको सङ्ख्या घट्दै गएको छ । तर अपेक्षाकृत रुपमा भने अझै घट्न नसकेको स्वास्थ्य सेवा कार्यालय सल््यानका प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक बर्ष २०७६/०७७ मा जिल्लामा २ दशमलव ४ प्रतिशत बालबालिकामा कुपोषण थियो ।
आर्थिक अवस्था कमजोर हुँदा ग्रामिण क्षेत्रका बासिन्दाले सन्तुलित भोजन खाँदैनन भने बजार एरियामा जङ्कफुडको समस्या
यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा त्यो सङ्ख्या घटेर २ प्रतिशतमा आयो । गत आर्थिक बर्ष २०७८/०७९ मा भने १ दशमलव ६ प्रतिशत बालबालिकामा कुपोषण भेटिएको छ । यो तथ्याङ्क
जन्मेदेखि दुई वर्षमुनिका वृद्धि अनुगमन गरिएका बालबालिकाको भएकाले जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या धेरै भएको अनुमान उहाँको छ ।
प्रोटोकल अनुसार जन्मेदेखि दुई बर्षसम्ममा प्रत्येक बालबालिकाको २४ पटक बृद्धि अनुगमन गर्नुपर्छ । तर जिल्लाका एउटा बच्चाको सरदरमा पाँच पटक मात्रै बृद्धि अनुगमन गर्ने गरिएको तथ्याङ्कमा
उल््लेख छ । अघिल््लो वर्ष सरदरमा चार पटक मात्रै बृद्धि अनुगमन गर्ने गरिएको थियो । जिल्लामा बृद्धि अनुगमन गरिएको मध्ये १।६ प्रतिशत बालबालिका कुपोषण रहेको कार्यालयका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।
उहाँले स्वास्थ्य संस्थामा गरिएको बालबालिकाको बृद्धि अनुगमनको आधारमा यस्तो तथ्याङ्क सार्वजनिक भएको बताउनुभयो । ‘अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा १.६ प्रतिशत देखिएको छ, त्यो बृद्धि अनुगमन गरेका बालबालिकाको सङ्ख्या हो, गाउँघरमा त्यस्ता खालका बालबालिका अझै धेरै भएको हुन सक्छन, उहाँले भन्नुभयो ।
बृद्धि अनुगमन गरिएका बालबालिका मध्ये सबैभन्दा धेरै शारदा नगरपालिका भित्रका २.४ प्रतिशत बालबालिकामा कुपोषण भेटिएको छ भने सबैभन्दा कम कुमाख गाउँपालिकामा ०.६ प्रतिशत बालबालिकामा कुपोषण भेटिएको हो ।
यस्तै कपुरकोट गाउँपालिकाका १.३, दार्मा गाउँपालिकाका १.६, बन्गाड कुपिण्डे नगरपालिकाका १.५, सिद्ध कुमाख गाउँपालिकाका २.३, बागचौर नगरपालिकाका १.८, छत्रेश्वरी गाउँपालिकाका २.१, कालिमाटी गाउँपालिकामा १ र त्रिबेणी गाउँपालिकामा २.२ प्रतिशत बालबालिकामा कुपोषण भेटिएको हो ।
स्वास्थ्यसम्बन्धी सचेतनाको अभावका कारण कम उमेरमा बच्चा जन्माउनु, जन्मिएको बच्चालाई नियमित स्तनपान नगराउनु, खानपिन र स्याहारसुसारमा ध्यान नदिनुलगायतका कारण कुपोषणको दर अपेक्षाकृत रुपमा घट्न नसकेको सूचना अधिकारी डिसीले बताउनुभयो । ‘आर्थिक अवस्था कमजोर हुँदा ग्रामिण क्षेत्रका बासिन्दाले सन्तुलित भोजन खादैनन भने बजार क्षेत्रमा जंकफुडको समस्या छ, उहाँले भन्नुभयो ‘अधिकांशले पेट भर्ने हिसाबले मात्र खाना खादा पनि कुपोषण घट्न नसकेको हो ।
खाना खाने बानीमा सुधार नआएसम्म बालबालिकामा लाग्ने कुपोषणले जरा गाडी रहने उहाँको भनाई छ । उहाँले बजार क्षेत्रमा व्यस्त अभिभावक र जंकफुडको धेरै भरले पनि कुपोषण बढि देखिएको हुन सक्ने बताउनु भयो ।
कुपोषित बालबालिकाको लागि १३ स्थानमा बहिरङ्ग उपचार केन्द्र
जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या अपेक्षाकृत रुपमा घटन नसकेपछि १३ स्थानमा बहिरंग उपचार केन्द्र स्थापना गरेर सेवा प्रवाह गरिएको छ । केन्द्रमा कुपोषित बालबालिकाको उपचारको व्यवस्था मिलाइएको छ । ‘कडाखालको कुपोषण देखिएका बालबालिकालाई एक महिनासम्म दैनिक रुपमा पौष्टिक आहार खुवाउने व्यवस्था मिलाइएको शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र हमालले बताउनुभयो ।
स्थापना भएका वहिरंग उपचार केन्द्रमा कडा शिघ्र र मध्यम शिघ्र कुपोषण भएका ६ देखि ५९ महिना सम्मका बालबालिकालाई तयार पारिएको उपचारात्मक खाना आरयुटीएफमार्पmत उपचार थालिएको छ ।
समुदायमा रहेका ६ देखि ५९ महिना सम्मका सबै बालबालिकाको पाखुरा मापन, कडा तथा मध्यम शिघ्र कुपोषण भएका बालबालिकाहरू पहिचान गरि पत्ता लागेका कडा तथा मध्यम शिघ्र कुपोषित बालबालिकालाई बहिरंग उपचार केन्द्रमा ल्याई एकीकृत रुपमा उपचार गर्ने गरिएको उहाँले बताउनुभयो ।
यसबाट गतवर्ष ३ सय १८ बालबालिकाले उपचार सेवा पाएका छन । कडा तथा मध्यम शिघ्र कुपोषण भएका बालबालिकाको जिल्लामै उपचार भएपछि ग्रामिण क्षेत्रका महिलाहरू खुसि भएका छन् ।