INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– प्रदेश १ मा महिला उम्मेदवार अत्यन्त न्यून

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा ४ सय बढीले उम्मेदवारी दर्ता गराएका छन् ।

ठूला राजनीतिक दलले अधिकांश पुरूषलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाएका छन् ।

संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था गरिएको छ ।

तर, आगामी आम निर्वाचनमा प्रदेश १ मा महिलाको प्रतिनिधित्व गर्दै उम्मेदवारीको दिने सङ्ख्या अत्यन्त न्यून छ ।

प्रदेश १ मा निर्वाचन क्षेत्र प्रदेशसभातर्फ ५६ र प्रतिनिधिसभातर्फ २८ छन् । मङ्सिर ४ गतेको निर्वाचनबाट प्रदेश १ मा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ जना गरी ९३ जना सांसद निर्वाचन हुने छन् ।

photo 20220909 Morang

ताप्लेजुङ प्रतिनिधि देवराज गुरूङका अनुसार १ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र दुई ओटा प्रदेशसभा निर्वाचन क्षेत्र भएको जिल्लामा २६ जना उमेदवारमध्ये महिला उमेदवार (स्वतन्त्र एक जना बाहेक) अरूको उम्मेदवारी नभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमूक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन,सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जनता समाजवादी पार्टी नेपालले जिल्लामा महिलालाई उम्मेदवार बनाएको छैन । प्रतिनिधिसभाका लागि जिल्लामा ११ जना पुरूष उमेदवार छन् । नौ ओटा राजनीतिक दलका नौ जना उम्मेदवार र दुई जना स्वतन्त्र गरी ११ जना नै पुरूष उमेदवार रहेको जिल्ला निर्वाचन कार्यालयले असोज २६ गते प्रकाशन गरेको अन्तिम नामावलीमा उल्लेख छ । प्रदेशसभाका लागि क मा आठ जना उम्मेदवार छन् । तीमध्ये सात जना पुरूष र एक जना मात्र महिलाको उम्मेदवारी छ । महिलाको उम्मेदवारी स्वतन्त्रमा छ । प्रदेशसभा ख मा सात जना उम्मेदवारमा महिला उम्मेदवारको सङ्ख्या शूण्य छ । प्रदेशसभा क मा स्वतन्त्र उम्मेदवारी दिनु भएकी मीनाकुमारी गुरुङले ‘नारा र भाषणमा महिला सहभागिताको चर्चा हुन्छ । व्यवहारमा शुन्य भएको बताउनु भयो । नेपाली कांग्रेस निकट महिला सङ्घ जिल्ला अध्यक्ष गुरुङले आफ्नो उमेदवारीलाई पार्टी भित्र महिलाको विद्रोह भएको बताउनु भयो । राजनीतिक दलले महिला भएकै कारण महिलाप्रति विभेद गरेको आरोप गुरुङको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष भुपेन्द्र थेवेले पार्टीले महिलाको उमेदवारीको ग्यारेन्टी गर्न नसकेको बताउनु भयो । अध्यक्ष थेबेले भन्नुभयो,‘क्षमता भएका महिलाहरू छन् । तर महिला भनेर विभेद गरेर टिकट नदिएको चाहि होइन् ।’ नेकपा माओवादी केन्द्रका नेता तथा सङ्घीय चुनावका उमेदवार खेलप्रसाद बुढाक्षेत्रीले महिला नेतृत्वको आवश्यकता भएपनि टिकट नपाउँदैमा आवश्यता छैन भन्ने आरोप लगाउन नहुने बताउनु भएको छ । कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको विषय ओझेलमा परेको मानव अधिकारकर्मी खड्गविक्रम सुवेदीको भनाइ छ । प्रतिनिधिसभा र प्रदेशमा २६ जना उमेदवारमध्ये (प्रदेश क मा १ जना स्वतन्त्र बाहेक) सबै उम्मेदवार पुरूष हुनु पितृसत्तात्मक सोचको परिणाम भएको अधिकारकर्र्मी सुवेदीको बुझाइ छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा दुई जना महिला उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र तथा प्रदेशसभा सदस्यका लागि एक र दुई ओटा निर्वाचन क्षेत्र छ । प्रतिनिधिसभा र प्रदेशसभा १ मा महिला उम्मेदवारको सङ्ख्या शूण्य छ । प्रतिनिधिसभा सदस्यमा दुई जना स्वतन्त्रसहित १२ जना पुरूषको मात्र उम्मेदवारी छ । प्रदेशसभा (१) प्रदेश सदस्यका लागि एक जना स्वतन्त्रसहित आठ जनाको पुरूषको उम्मेदवारी छ । प्रदेशसभा २ मा दुई जना महिलाको उम्मेदवारी परेको छ । प्रदेशसभा (२) तर्फ  नेकपा एकीकृत समाजवादीबाट सरिता थापा, मङ्गोल नेशनल पार्टीबाट माया गुरुङको उम्मेदवारी छ ।

सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा प्रतिनिधि सभा सदस्य पदका लागि एक जना महिलाको मात्रै उम्मेदवारी छ । प्रतिनिधिका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका बाँकी सात जना पुरूष उम्मेदवार छन्  । दुई ओटा प्रदेशसभाका लागि उम्मेदवारी दिएका १२ जना सबै पुरूष उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यका लागि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ल्हमु शेर्पाले प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराउनु भएको छ । संविधानको धारा ३८ को उपधारा ४ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकको व्यवस्था गरिएको छ । प्रतिनिधिसभा निर्वाचन ऐनमा समानुपातिकतर्फको उम्मेदवार बनाउँदा अनिवार्य ५० प्रतिशत महिलालाई बनाउनुपर्ने प्रावधान राखे पनि प्रत्यक्षतर्फको उम्मेदवारीमा त्यस्तो कुनै प्रावधान छैन । प्रतिनिधिसभा निर्वाचन ऐन निर्माणका क्रममा राज्य व्यवस्था समितिमा महिला सांसदहरूले समूहगत रूपमा प्रत्यक्षतर्फ उम्मेदवारीमा महिलाका लागि ३३ प्रतिशत आरक्षित क्षेत्रकै व्यवस्था हुनुपर्ने, ३३ प्रतिशत निर्वाचन क्षेत्र महिलाकै लागि आरक्षित गरिनुपर्नेजस्ता संशोधन प्रस्ताव राखेका थिए । तर, ती प्रस्ताव अस्वीकार भएको थियो ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि महिला उम्मेदवारको सङ्ख्या अत्यन्त न्यून रहेको छ । जिल्लामा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदारको सङ्ख्याको २० जना रहेकामा महिला उम्मेदवारको सङ्ख्या दुइ जना मात्र रहेको जिल्ला निर्वाचन कार्यालयका अधिकारी प्रेमप्रसाद न्यौपानेले बताउनु भयो । प्रतिनिधिसभा सदस्यमा आठ जना मध्ये दुई जना महिलाको उम्मेदवारी छ । प्रतिनिधिसभा सदस्यमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ङिमालमु शेर्पा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शोभा कार्की कार्कीको उम्मेदवारी छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा पाँच जना र प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ मा सात जनाको उम्मेदवारीमध्ये महिलाको सङ्ख्या शूण्उ भएको जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले बताउनु भएको छ । महिलाले नेतृत्व गर्न नसक्ने र चुनावी आर्थिक क्रियाकलाप गर्न नसक्ने आरोपमा महिलाहरूलाई उम्मेदवारी दिन पार्टी नेतृत्वले नै अवरोध पुर्याएका कारण अधिकांश निर्वाचनमा महिलाको उम्मेदवारी कम रहेको प्रतिनिधिसभाकी उम्मेदवार शोभा कार्कीको भनाइ छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा महिला उम्मेदवारीको सङ्ख्या अत्यन्त न्यून रहेको छ । जिल्लामा आम निर्वाचन ०७९ का लागि २२ जनाले उम्मेदवारी दर्ता गराएकामा महिला उम्मेदवारको सङ्ख्या एक मात्र रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभा पदका लागि जिल्लामा महिलाको उम्मेदवारी परेको छैन ।  प्रदेशसभा ‘ख’ मा ६ जनाको मनोनयन दर्ता गराएकामध्ये एक जना मात्र महिला हुनुहुन्छ । मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट विमला राईको मात्र महिलाको प्रतिनिधित्व गर्दै उम्मेदवारी परेको छ । नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि डिल्लीकुमारी आचार्यले पुरूषवादी चिन्तनका कारण प्रत्यक्षतर्फ महिलाले टिकट नपाएको बताउनु भयो । चुनाव खर्चिलो हुदै गएको कारण आर्थिक व्यवस्थापन समेत महिलाले गर्न नसक्ने भन्दै टिकट विवरणमा नेतृत्वले महिलालाई विभेद गरेको आरोप आचार्यको छ । महिला सशक्तिकरणको मुद्दालाई स्थापित गर्न महिलालाई टिकट दिनुपर्नेमा गठवन्धनका नाममा महिलालाई विभेद गरिएको नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका अध्यक्ष दिलिप खत्रीको भनाइ छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा उम्मेदवारी दिएका १८ जना उम्मेदवारमध्ये महिला उम्मेदवारको सङ्ख्या एक मात्र छ । जिल्लामा एक प्रतिनिधिसभा सदस्यका लागि सात जनाको उम्मेदवारी दर्ता हुँदा महिलाको उम्मेदवारी नै परेको छैन । २ प्रदेशसभा सदस्यका लागि ११ जनाको उम्मेदवारी दर्ता हुँदा एक जना महिलाको मात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं.ख मा नेकपा माओवादी केन्द्रबाट कुशुमकुमारी श्रेष्ठले मात्रै उम्मेदवारी दर्ता गराउनु भएको छ । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस लगायतका ठूला दलले महिलालाई उम्मेदवार बनाएका छैनन् । महिला अधिकारकर्मी गीता अधिकारीले महिलाहरूलाई राजनीतिक दलले दिँदा लिने र नदिँदा हेरेर बस्नुपर्ने अवस्थामा बनाएको बताउनु हुन्छ । उहाँले दलले महिलालाई नेतृत्वमा ल्याउन नचाहनु, निर्वाचन प्रणाली मङ्गगो हुनु, संविधानले अधिकार दिएपनि मानिसको रूपमा महिलालाई नहेरिनु जस्ता कारणले समस्या भएको बताउनु भयो । नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले जिल्ला समितिले सिफारिस गर्ने अधिकार मात्रै भएकाले जिल्लाले महिलालाई सिफारिस नै गरेको बताउनु भयो । उहाँले उम्मेदवार बनाउने अधिकार केन्द्रको मात्रै भएकाले जिल्लाले बोल्न सक्ने ठाउँ नै नरहेको बताउनु भयो । जिल्लामा कांग्रेसले प्रदेशसभा तर्फ दुई जना महिलालाई सिफारिस गरेको छ । नेकपा एमाले धनकुटाका सचिव निरन राईले महिलालाई उपेक्षा गरेको नभइ समानुपातिक सिटबाट प्रतिनिधित्व पुर्याइने बताउनु भयो । उहाँले टिकट वितरण केन्द्रले गर्ने भएकाले जिल्लाको अधिकार नहुँदा महिला उम्मेदवारी न्यून रहेको बताउनु भयो ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा २६ जना उम्मेदवार रहँदा महिला उम्मेदवारको एक जना मात्र हुनुहुन्छ । प्रतिनिधिसभाका लागि जिल्लामा नौ जना उम्मेदवारमध्ये एक जना महिला हुनुहुन्छ । प्रदेशसभाका लागि १७ जनाको उम्मेदवारी रहँदा महिलाको उम्मेदवारी नपरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी दीपक भण्डारीले बताउनु भयो । जिल्लामा प्रतिनिधिसभाका लागि महिला उम्मेदवार गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सीता गुरुङको उम्मेदवारी छ ।

इलाम प्रतिनिधि बविता मैनालीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा महिलाको उम्मेदवारी कम परेको छ । प्रतिनिधिसभाका लागि २५ जना र प्रदेशसभाका लागि २९ जना गरी ५४ जनाको उम्मेदवारी रहेकामा महिलाको उम्मेदवारको सङ्ख्या ६ जना मात्र छ । प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं १ (क) गठवन्धन तर्फबाट समाजवादीकी नेतृ खिनुलङ्वा लिम्बू, एमालेवाट शोभा पराजुली, सङ्घीय लोकतान्त्रिक राष्टिय मञ्चबाट सुष्मा फागोको उम्मेदवारी छ । निर्वाचन क्षेत्र नं १ (ख) का लागि राष्ट्रिय जनमुतिm पार्टीबाट इन्द«कुमारी लुङगेली, क्षेत्र नं २ को (ख) का लागि राष्ट्रिय जनमुतिm पार्टीबाट पवित्रा लिम्बू तुम्बाम्फे र प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं २ देखि स्वतन्त्र जुनु मुखिमको उम्मेदवारी कायम रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । टिकट वितरणमा पुरूष नेतृत्व हावी भएकाले क्षमता भएका महिलाहरूले समेत टिकट नपाउँदा महिलाको उम्मेदवारी कम परेको शोभा पराजुलीको भनाइ छ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाका लागिका जिल्लामा २ सय २७ जना उम्मेदवार हुँदा महिला उम्मेदवारको सङ्ख्या १८ जना मात्र रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले असोज २६ गते कायम रहेका उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्दा महिला उम्मेदवारको सङ्ख्या १८ मात्र रहेको उल्लेख छ । प्रतिनिधिसभा सदस्य पदका लागि १ सय ८ जनाको उम्मेदवारी दर्ता हुँदा सो पदका लागि महिला उम्मेदवारको सङ्ख्या १२ छ । प्रदेशसभाका लागि १ सय १९ जनाको उम्मेदवारी कायम हुँदा महिला उम्मेदवारको सङ्ख्या सात जना रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले बताउनु भयो । जिल्लामा प्रतिनिधिसभातर्फ ६ ओटा र प्रदेशसभातर्फ १२ ओटा निर्वाचन क्षेत्र छन् । मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट बुद्धमाया लिम्बू, स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्नेहरूमा निलु लिम्बू, फूलकुमारी पण्डित राई र मनिसा सुवेदी हुनुहुन्छ । क्षेत्र न.१ का लागि स्वतन्त्र उम्मेदवार सुजता थापाले उम्मेदवारी फिर्ता लिनु भएको छ । प्रदेशसभातर्फ महिलाको उमेदवारी परेको छैन । मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यकालागि  कांग्रेसबाट सुजाता कोइराला र नेशनलिस्ट पिपुल्स पार्टीबाट मीना कटुवाल बुढाथोकीको उम्मेदवारी छ । मोरङ २ मा  प्रदेशसभाका दुई ओटै क्षेत्रबाट महिलाको उम्मेदवारी परेको छैन । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अभिनेत्री रेखा थापा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी चन्द्रिकादेवी लिम्बू,स्वतन्त्रबाट इन्दिरा थापा र चन्द्रकला खत्रीले उमेदवारी दिनु भएको छ । प्रदेशसभातर्फ भने महिलाको उम्मेदवारी नपरेको सूचना अधिकारी बुढाथोकीको भनाइ छ । मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि महिलाको उम्मेदवारी परेको छैन । उक्त क्षेत्रको प्रदेशसभा ‘क’ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट  हेमन्तीकुमारी सुतिहारले उमेदवारी दिनु भएको छ । क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट सञ्जु शर्मा बडइले उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रदेशसभा ‘क’ का लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोनलकुमारी गुप्ता साहले उम्मेदवारी दिनु भएको छ ।  प्रदेशसभा ‘ख’ का लागि हाम्रो नेपाली पार्टीबाट वसन्तीदेवी यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट रामवती साहले उम्मेदवारी दिनु भएको छ । मोरङको क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभा सदस्यका लागि महिलाको उम्मेदवारी दर्ता भएको छैन । उक्त क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा ‘क’ बाट नेकपा एमालेबाट रीता न्यौपाने र स्वतन्त्रबाट  रुक्मणि खवास चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि पुरूष उम्मेदवारको भन्दा महिला उम्मेदवारको सङ्ख्या अन्त्यन्त न्यून हुनुमा नेतृत्वमा पुरूष भएका कारण भएको मोरङ क्षेत्र न.६ मा प्रदेशसभा ‘क’ का लागि नेकपा एमालेबाट उम्मेदवारी दिनु भएकी रीता न्यौपानेको भनाइ छ ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि जिल्लामा ६२ जना उम्मेदवारहरूमध्ये चार जना मात्रै महिला उम्मेदवार छन् । नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा मञ्जुकुमारी चौधरी, प्रदेशसभा १ (क) मा सचेत नेपाली पार्टीबाट कल्पना साटकोटा, प्रतिनिधिसभा क्षेत्र नं. २ मा जनजागरण पार्टीबाट बिन्दाकुमारी कटुवाल र प्रदेशसभा २ (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट माला तामाङले उम्मेदवारी दिएका छन् । जिल्लामा महिला उम्मेदवारको सङ्ख्याको ६ प्रतिशत मात्रै महिला उम्मेदवार छन् ।

अन्य

भिडियो