महिला कामदारले पुरूषसरह समान ज्याला नपाएको महिला कामदारले गुनासो गरेका छन् ।
रोल्पाको सुनछहरी गाउँपालिका जेलबाङकी ४९ वर्षीया कमला बुढामगरले मजदूरी थालेको आठ वर्ष भयो । उँहाको एक दिन काम नगरे साँझ–बिहान चुल्हो बाल्न गाह्रो पर्छ ।
सदमुकाम लिबाङमा बन्दै गरेका घरहरूमा ढुंगा, बालुवा र गिट्टी बोकेर पाएको ज्यालाबाट मुस्किलले उनको दैनिकी चलिरहेको छ । पुरूषसरह काम गर्दा पनि ज्यालामा विभेद भोग्नु पर्दा दैनिकी चलाउनै मुस्किल परेको उहाँ बताउनु हुन्छ ।
माडी गाउँपालिका तालाबाङकी पानकली घर्तीको समस्या पनि उस्तै छ । पुरूषसरह काम गर्दा पनि ज्यालामा विभेद भोग्नु परेका अनुभव उहाँसँग पनि छ । तर पनि दैनिकी चलाउन कम ज्यालामै काम गुर्नपर्ने बाध्यता छ । काम नपाउँदा कामको खोजीमा भौतारिनुपर्ने उनीहरू बताउछन् ।
महिलाहरू आय आर्जनका काममा नलागेका पनि होइनन् । तर सीमित व्यक्तिबाहेक ग्रामीण क्षेत्रका महिलाका जीवनस्तरमा कुनै परिर्वतन आउन सकेको छैन ।
स्थानीय सरकारले भौतिक पुर्वाधारको क्षेत्रमा मात्र लगानीगरी महिला शसक्तिकरणलाई ओझेलमा पारेको महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तिर्था आचार्यले बताउनु भयो ।
लोकतन्त्र गणतन्त्र स्थापना भएको लामोसमय हुँदा पनि पुरुषसरह काम गर्ने महिलाहरुले ज्यालामा विभेद भोग्नु दुखद भएको अध्यक्ष आचार्यले बताउनु भयो ।
सरकारले महिलाको जीवनस्तर सुधार गर्ने भन्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको छ । तर बिपन्न समुदायका महिला यस्ता कार्यक्रमको पहुँचबाट बाहिर रहेका छन् । जिल्लाका अधिकांश यस्ता महिला दैनिक ज्याला मजदूरी गरेर घरपरिवार चलाउन बाध्य छन् ।