आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा सतर्कता बढाइने कर्णाली प्रदेशस्थित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले बताउनु भएको छ । सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील र संवेदनशील रहेका मतदानस्थल पहिचान गरिएका समाचार कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्राप्त भएका छन् । प्राप्त समाचार यस प्रकार छन् ।
सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सल्यानमा ४१ वटा मतदानस्थल अति संवेदनशील तोकिएको छ । जिल्ला सुरक्षा समितिको टोलीले मतदानस्थल र संवेदनशीलताबारे अध्ययन गर्ने क्रममा सल्यानका ४१ ओटा मतदानस्थल अति संवेदनशील रहेको ठहर गरेको छ ।
आगामी निर्वाचनका लागि तोकिएका १ सय १७ ओटा मतदानस्थल मध्ये ४१ ओटा मतदानस्थल अति संवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी दामोदर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ६० वटा मतदानस्थल संवेदनशील र १६ ओटा मतदानस्थल सामान्य रहेका छन् । अतिसंवेदनशील भएका मतदानस्थलहरूमा उच्च तहको कमाण्डमा अन्य स्थानभन्दा बढी सुरक्षा व्यवस्था अपनाइने तयारी भएको उहाँले बताउनुभयो ।
यसैबीच सरकारले आगामी मङ्सिर ४ गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै आवश्यक तयारीका लागि जिल्लामा रहेका सरोकारवाला निकाय सक्रिय बन्न थालेका छन् ।
असोज २९ गते जिल्ला प्रशासन कार्यालय, सल्यानले आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धि छ्लफलमा प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार र जिल्लामा रहेका सम्पूर्ण राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचनलाई शान्तिपूर्ण, धाधलीरहित, निष्पक्ष र मर्यादित तरिकाले सम्पन्न गर्न पूर्ण रुपमा निर्वाचन आचारसंहिता पालना गर्ने निर्णयसहित हस्ताक्षर गरेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।
यस्तै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सल्यानमा १ लाख ५७ हजार मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार आगामी निर्वाचनका लागि जिल्लामा १ लाख ५७ हजार ७ सय १ मतदाता रहेका छन् । जसमा महिला भन्दा पुरुष मतदाता धेरै रहेका छन् ।
जसअन्र्तगत जिल्लामा पुरुष मतदाता ८० हजार २ सय १२ रहेका छन भने महिला मतदाता ७७ हजार ४ सय ८९ रहेको जिल्ला निर्वाचन कार्यालय, सल्यानका जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराइले जानकारी दिनुभयो ।
उहाँका अनुसार संघिय निर्वाचन क्षेत्र एक मात्रै रहेको सल्यानमा प्रदेश सभा क भन्दा प्रदेश सभा ख मा धेरै मतदाता रहेका छन् । प्रदेश सभा क मा पुरुष ४० हजार १ सय ७४ र महिला ३८ हजार ४ सय ९४ गरेर कुल ७८ हजार ६ सय ६८ मतदाता रहेका छन् भने प्रदेश सभा ख मा ४० हजार ३८ पुरुष र ३८ हजार ९ सय ९५ महिला गरी ७९ हजार ३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै जिल्लामा तीन मतदानस्थल र एक मतदान केन्द्र थप भएको समेत कार्यालयले जनाएको छ । यससँगै जिल्लामा १ सय १७ मतदानस्थल र २ सय २ मतदान केन्द्र कायम भएका छन् ।
जाजरकोट जिल्ला प्रतिनिधि दिनेश कुमार श्रेष्ठका अनुसार जिल्लामा १८ ओटा मतदानस्थल अति सम्वेदनशील रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेका अनुसार निर्वाचन स्थलको सुरक्षा विश्लेषणका आधारमा १८ मतदानस्थल अति सम्वेदनशील, ४२ सम्वेदनशील र २८ वटा निर्वाचन स्थल सामान्य सूचीमा रहेका छन् ।
जिल्लामा १ लाख ३ हजार ३ सय ६३ मतदाता रहेका छन् । जसमध्ये ५४ हजार ६ सय १ पुरूष, ४८ हजार ७ सय ६० महिला र दुई जना अन्य मतदाता रहेका छन् ।
जिल्लामा प्रतिनिधि सभातर्फ एउटा र प्रदेश सभातर्फ दुईओटा निर्वाचन क्षेत्र रहेका छन् । जिल्लाका दुई ओटा निर्वाचन क्षेत्रमध्ये मतदाता सङ्ख्याको आधारमा प्रदेश १ मा ५६ हजार ८ सय ६९ र प्रदेश २ मा ४६ हजार ४ सय ९४ मतदाता रहेका छन ।
जाजरकोटमा १ सय ४२ मतदान केन्द्र र ८८ वटा मतदान स्थल तोकिएका छन् । गत स्थानीय तहको निर्वाचनमा १ सय ४२ मतदान केन्द्र र ८५ ओटा मतदानस्थल रहेका थिए भने यतिखेर तीनओटा मतदानस्थल थप भएको निर्वाचन कार्यालय जाजरकोटका निमित्त जिल्ला निर्वाचन अधिकारी नविन कठायतले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार यसअघि वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन यता मात्रै जिल्लामा ५ सय ६ मतदाता घटेका छन् । २०७९ वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा १ लाख ३ हजार ८ सय ६९ मतदाता रहेका थिए ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय, जाजरकोटका डीएसपी सन्तोष निरौलाका अनुसार यो वर्षको प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि हुने निर्वाचनमा सुरक्षाको आधारमा ८ सय ६० म्यादी प्रहरीलाई खटाइएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिने सम्बन्धमा संघीय प्रहरी र प्रदेश प्रहरीबाट कति संख्या खटिने भन्ने एकीन नभएकाले केही दिनमै संख्या एकीन हुने बताउनु भयो ।
त्यसै गरी थप सुरक्षाका लागि नेपाली सेनाको टोली पनि तयारी गरिएको प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानले बताउनु भएको छ । सुरक्षा निकायको सम्पूर्ण कमाण्ड जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारीले गर्नुहुने डीएसपी निरौलाले जानकारी दिनु भएको छ ।
रुकुम (पश्चिम) जिल्ला प्रतिनिधि मनिषा केसीका अुनसार रुकुम पश्चिममा निर्वाचन स्थलको सुरक्षा दृष्टिकोणले २१ मतदानस्थल अति सम्वेदनशील, ४३ ओटा मतदान केन्द्र सम्वेदनशील र १२ ओटा मतदानस्थल सामान्य भएको प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमिरेले जानकारी दिनुभएको छ । जिल्लामा रहेका मतदान स्थलमा सम्वेदनशीलताका आधारमा सुरक्षा व्यवस्था पनि त्यहि अनुरुप कडा बनाइने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा हाल १ सय ३९ मतदान केन्द्र र ७६ ओटा मतदान स्थल रहेका छन् । अस्थाई मतदाताहरूको लागि दुईओटा अस्थाई मतदान केन्द्रको पनि व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख कुमारी रीमा मल्लले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनको समयमा
जिल्लामा १ लाख ४ सय ८० मतदाता रहेका थिए भने हाल मतदाता सङ्ख्या १ लाख ४ हजार २ सय ८० रहेका छन् । जसमा महिला मतदाताको सङ्ख्या ५१ हजार ५ सय ४४ जना र पुरुष मतदाताको सङ्ख्या ५२ हजार ७ सय ३५ रहेको छ । स्थानीय तहको निर्वाचनको समयमा भन्दा हाल मतदाता सङ्ख्यामा २ सयले घटेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मल्लको भनाई छ ।
त्यसैगरी आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी रुकुम पश्चिममा ७ सय ७५ जना म्यादी प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी बिष्णु सोतीले जानकारी दिनुभयो । हाल म्यादी प्रहरीको तालिम भइरहेको र केही दिनपछि उनीहरूलाई मतदानस्थलमा खटाइने उहाँको भनाई छ ।