INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोको प्रभाव : कर्णालीका विभिन्न जिल्लामा खानेपानीको अभाव

असोज महिनाको तेस्रो हप्तामा परेको अविरल वर्षपछिको पहिरोका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लामा खानेपानीको अभाव भएको समाचार प्राप्त भएको छ । खानेपानीको मुहान पहिरोले पुरेपछि खानेपानीको अभाव भएको हो । खानेपानी अभावका सम्बन्धमा जिल्लाबाट प्राप्त समाचार यस प्रकार भएका छन् ।

कालिकोट जिल्ला प्रतिनिधि कालिबहादुर मल्लका अनुसार सदरमुकाम मान्ममा खानेपानीको अभाव भएको छ । खानेपानीको मुहानमा पहिरो आएका कारण अभाव भएको हो ।
एक सय मिटरसम्म पहिरोका कारण खानेपानीको पाइपमा क्षति पुगेको छ । यस विषयमा सरोकारवाला निकायको ध्यान नजादा बजारवासीलाई खानेपानीको अभाव भइ एक किलोमिटर टाढाबाट बोकेर खानेपानीको जोहो गर्नु परेको स्थानीयवासी चम्पा थापा मगरले गुनासो गर्नु भएको छ ।

‘सदरमुकाममा नै खानेपानीको चरम अभाव देखिएको छ ।’–उहाँले भन्नु भयो–‘खानेपानी उपभोक्ता समिति र खानेपानी कार्यालयको लापरवाहीका कारण हामीले खानेपानी पाएनौँ ।’
स्थायी रुपमा पानीको व्यवस्थापन तथा मर्मत नगरेका कारण यहाँका नागरिकले पटक पटक खानेपानीको समस्या भोग्नु परेको र होटल व्यवसायमा समेत समस्या भएको लोकप्रिय होटलका सञ्चालक नन्दा शाहीले गुनासो गर्नु भयो ।

खानेपानीको समस्या भएपछि सरकारी कार्यालयका कर्मचारी दुई किलोमिटर टाढा रहेको खरिखोलाबाट गाडीमा बोकेर पानीको प्रयोग गरिरहेका छन् भने सर्वसाधारण सोही ठाउँबाट बोकेर ल्याउने गरिरहेका छन् ।

पहिरोका कारण मुहान भत्किएपछि जिल्लाका धेरैठाउँमा खानेपानीको समस्या आएको इन्सेक प्रतिनिधिलाई जानकारी आएको छ । खानेपानीको समस्या हुनेमा खाडाचक्र नगरपालिकाको मान्म, दाँहा, पिलि, दहाल, पाँखा, पलाता गाउँपालिकाको धौलागोह, खिन, नरहरिनाथ गाउँपालिकाको कोटबाडा, कुमालगाँ रहेको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले जनाकारी गराउनु भएको छ ।

नेपालको संविधानको मौलिक हकको धारा ३५ को उपधारा ४ अनुसार प्रत्येक नागरिकलाई स्वाच्छ खानेपानी र सरसफाईको हक हुने छ भनि उल्लेख गरिएको भएपनि यहाँका नागरिक खानेपानीबाट वञ्चित हुनु परिरहेको छ ।

PhotoKalikot20221016

मुगु जिल्ला प्रतिनिधि जीवन सेजुवालका अनुसार पहिरोले खानेपानीको पाइपलाइनलाई पुर्णरुपले क्षति पु¥याएपछि छाँयानाथ रारा नपा–६ का दुई बस्तिका १ सय ९३ घरधुरी सुरक्षित खानेपानीबाट बञ्चित भएका छन ।

गाँउबाट ६ किलोमिटर टाढा नाकटालीबाट ल्याएको खानेपानीको पाइपलाई पहिरोले पूर्ण क्षति पु¥याएपछि छाँयानाथ रारा नपा–६ माथि कोटिल्ला र तलि कोटीलाका १ सय ९३ घरधुरी सुरक्षित खानेपानीबाट बञ्चित हुन पुगेका हुन ।

स्वच्छ खानेपानी उपभोग गर्न नपाएको १२ दिन भयो अहिलेसम्म घरगोठ भित्रबाट निस्केको मुलको पानी उपभोग गर्दै आएका छौ । अहिले घाम लागिरहेको छ । घर गोठबाट निस्केको मुलपनी सुकेपछि एक घण्टा तलको गमगाडको धमिलो खानेपानी उपभोग गनुपर्ने बाध्यता रहेको छ । धारामा पानी नआएपछि सरसफाई समेत गर्न नपाएको सोही वडाका पंच बहादुर ऐडीले गुनासो गर्नु भयो ।

बर्षातले खानेपानीको पाइपलाईन पूर्णरुपले क्षति गर्दा तत्काल मर्मत गर्नकालागि वडा कार्यालयबाट बजेटले सम्भावना देखिदैन । अहिले पाइपको ब्यवस्था गरिदिन खानेपानी तथा सरसफाई सम्बन्धि कामगर्दै आएको हिरिसडेक नामक गैर सरकारी संस्थालाई अनुरोध गरिएको छ । उक्त संस्थाले पाइप उपलब्ध गरिदिने भएपछि पाइपलाईन मर्मत गरेर धारामा खानेपानी ल्याउन सकिने छाँयानाथ रारा नपा–६ का वडा अध्यक्ष खेमबहादुर रावलले बताउनु भयो ।

सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार एक हप्ताअघि परेको अविरल वर्षाका कारण लुहाम खोलामा आएको बाढीले इन्टेक ट्यांकी पुरिएपछि त्रिवेणी गाउँपालिकाका करिब सात सय परिवारलाई खानेपानीको समस्या भएको छ ।

त्रिवेणी गाउँपालिकाले २०७७ सालमा डेढ करोड रुपियाँ खर्च गरी योजना निर्माण गरेपछि लुहाम बजारको खानेपानी समस्या समाधान भएको थियो । तर वर्षातसँगै लुहाम खोलामा पानीको सतह बढेपछि स्थानीयले प्रयोग गर्दै आएको इन्टेक ट्याङ्की नै पुरिएपछि खानेपानीको समस्या भएको स्थानीय वेदबहादुर घर्तीले बताउनुभयो ।

वर्षातसँगै आएको पहिरोले कुमाख गाउँपालिकाको जिमालीस्थित बन्चरे खानेपानी योजनाको झण्डै ५ सय मिटर पाइप बगाएपछि केही दिनदेखि खानेपानीको लागि सास्ती भएको स्थानीय विमला रावतले बताउनुभयो ।

उहाँका अनुसार अहिले खोल्साखोल्सीमा रहेका मुहानको पानी खाँदै आए पनि शुद्ध नभएकाले विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन् । खानेपानी योजनामा क्षति पुगेपछि यो गाउँका करिब डेढ सय परिवार प्रभावित भएको उहाँको भनाइ छ ।

बनगाडकुपिन्डे नपा–२ बामेको राइरामा पनि साविक जिल्ला विकास समितिले झण्डै एक करोड रुपियाँ खर्च गरी २०६७ सालमा निर्माण गरेको योजना पनि बाढीले तहसनहस बनाएको छ । अहिले स्थानीय खोलाको पानी त्यो पनि एक घण्टा टाढा गएर ल्याउनु पर्ने बाध्यता रहेको स्थानीय निर्मला रोकाले बताउनुभयो ।

उहाँका अनुसार बाढीले योजनाको मुहानमा क्षति प¥ुयाएको छ  भने, पाइपलाइनमा पनि पहिरोले क्षति पुगेको छ । मुहानमा क्षति पु¥याएपछि अहिले खोलाको धमिलो पानी खान बाध्य भएको उहाँले बताउनुभयो  ।

झण्डै एक दशकदेखि घर नजिकैको धारामा पानी भर्दै आएकी उहाँले एक गाग्री पानीका लागि अहिले एक घण्टा टाढाको बन्गाडखोलामा जानुपर्ने बाध्यता भएको बताउनुभयो । ‘केही दिन त खोलाको पानी धमिलो हुँदा आकाशबाट परेको पानी संकलन गरेर उपभोग ग¥यौं, अहिले खोलाको पानीमा सफा भए पनि शुद्ध छैन, उहाँले भन्नुभयो ।

बागचौर नगरपालिका प्रमुख जनकराज गौतमले वर्षातसँगै आएको पहिरो र बाढीका कारण पालिकाभरि करिब दुई दर्जन खानेपानी योजनामा क्षति पुगेको बताउनुभयो । जसका कारण झण्डै एक हजार परिवार प्रभावित भएको उहाँले बताउनुभयो । तत्काल मर्मत गरेर स्थानीयलाई घरघरमै पानी पुर्याउन योजनाको अनुगमन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
एक सातासम्म परेको अविरल वर्षातका कारण जिल्लाका १० स्थानीय तहमा साना–ठूला गरी झण्डै १ सय खानेपानी योजनामा क्षति पुगेको जिल्ला खानेपानी तथा सभ डिभिजन कार्यालय सल्यानले जनाएको छ ।

खानेपानी योजनाहरूमा क्षति पुगेपछि जिल्ला भरिका करिब १० हजार परिवार प्रभावित भएको कार्यालयले जनाएको छ  । स्थानीयहरू एक सातादेखि खोल्साखोल्सीका मुहान र खोलाको प्रदूषित पानी खान बाध्य भएका छन्  ।

रुकुम (पश्चिम) जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार सानीभेरी गाउँपालिका–८ माथिल्लो आमडाँडाका स्थानीयबासीलाई खानेपानीको समस्या भएको छ । माथिल्लो आम डाँडामा एक महिनादेखि नै पानिको समस्या भएको स्थानीय पूर्व वडाध्यक्ष शशिराम बुढाथोकीले जानकारी दिनु भएको छ । यहाँका १ सय घरधुरीले खानेपानीको समस्या भोगिरहेको उहाँको भनाई छ । स्थानीय बिप्पे खोलामा रहेको जुगेपानी बिप्पे लेख सोलार पम्पिङ खानेपानी आयोजनाको मोटर बिग्रिएपछि एकमहिना अगाडीदेखि खानेपानी बन्द भएको र त्यसले गर्दा एक घण्टाको बाटो हिडेर मुहानमै गएर पानी लिन बाध्य भएको स्थानीय बुढाले दुखेसो गर्नुभयो । खानेपानी सुचारुको लागि वडामा जानकारी गराएको तर वडाले कुनै चासो नदेखाएको बुढाले आरोप लगाउनु भयो । यस विषयमा गाउँपालिकामा जानकारी गराएको र गाउँपालिकाले छिटै मर्मत गर्ने आश्वासन दिएपनि अहिलेसम्म मर्मतको काम सुरुनै नगर्दा आफुहरु निकै समस्यामा परेको उहाँको भनाई छ । एकमहिना अगाडिदेखि एक घण्टाको बाटो हिँडेर पानि ओसार्ने गरेको स्थानीय पम्फी घर्तीले बताउनुभयो । गाउँमा खानेपानी नियमित नहुँदा धेरै नै दुःख भएको र दिनभरी पानि ओसार्नुपर्दा घरको अरु काममा बाधा हुने गरेको उहाँको भनाई छ । बोकेर घरमा पानि पु¥याउन धेरै नै समस्या भएको उहाँको भनाई थियो ।

माथिल्लो आमडाँडामा भएको खानेपानिको समस्या तिहार अगाडीनै समाधान हुने गाउँपालिकाका प्रमुख बिर्खबहादुर बिष्टले जानकारी दिनुभयो । पानि तान्ने मोटरको मर्मतको लागि गाउँपालिकाले बजेट व्यवस्थापन गरेर मात्र खानेपानिको मर्मत सुरु गरिने, उक्त कामको सुरुवात छिटै गरिने र खानेपानिको समस्या छिटै समाधान गरिने उहाँको भनाई छ ।

अन्य

भिडियो