INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णालीमा बाढीपहिरोको प्रभाव ः १ हजार १ सय ४१ घरमा पूर्ण क्षति, दशहजार बढी विस्थापित

अविरल वर्षाका कारण कर्णाली प्रदेशमा १ हजार १ सय ४१ घरमा पूर्ण रुपमा क्षति पुगेको नेपाल प्रहरीको कर्णाली प्रदेश कार्यालय, सुर्खेतले जनाएको छ ।

प्रहरीको तथ्याङ्क अनुसार वर्षाका कारण १० हजार ७ सय २१ जना विस्थापित भएका छन् । कर्णाली प्रदेश भर १ हजार ४ सय ८३ घर उच्च जोखिममा रहेका छन् । १ हजार ६ सय १२ घरमा आशिंक रुपमा क्षति पुगेको छ । जुम्लामा मात्रै हिमा र तिला नदी किनारका ४ सय ४० घरधुरी अझै उच्च जोखिममा रहेको नेपाल प्रहरीको कर्णाली प्रदेश कार्यालय, सुर्खेतले जानकारी दिएको छ ।

यस अवधिमा प्रदेशमा बाढी पहिरोमा परी ३६ जनाको मृत्यु भएको छ । बाढीमा परी जुम्लामा १० जनाको मृत्यु भएको छ । मुगुमा आठ जना, कालिकोटमा ६ जना, हुम्लामा चार जना, सल्यान र जाजरकोटमा तीन÷तीन जनाको मृत्युभएको छ ।

डोल्पा र दैलेखमा एक÷एक जनाको मृत्युभएको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ । प्रदेश प्रहरी कार्यालयले असोज २८ गते दिएको जानकारी अनुसार प्रदेशमा बाढीबाट २८ जना घाइते भएका छन् भने २० जना अझै पनि बेपत्ता भएको कार्यालयको तथ्याङ्क उल्लेख छ । प्रहरी स्थलगत रुपमा खटिई क्षतिको विवरण सङ्कलन भइरहेकाले घटनाको यर्थात विवरण थपघट हुन सक्ने कार्यालयका सुचना अधिकारी तथा एसएसपी माधव प्रसाद श्रेष्ठले बताउनुभयो ।

असोज १९ देखि २३ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीपहिराले कर्णाली राजमार्गको आवागमन ठप्प भएको छ । पहिरो र बाढीले क्षतविक्षत राजमार्ग सञ्चालन गर्न दुई हप्ता लाग्ने कर्णाली प्रदेश सरकारले जनाएको छ ।

सडक बन्द हुँदा बाढीपहिरोमा परेका मानिसको उद्धार हुन सकेको छैन । आफन्त गुमाएका तथा विस्थापित परिवारले पर्याप्त राहत पाउन सकेका छैनन् । कर्णाली राजमार्गको विभिन्न १६ स्थानमा सडक अवरुद्ध भएको छ । कर्णाली राजमार्गको कालीकोट खण्डमा आठ स्थानमा पहिरो खसेको छ । २१ स्थानमा ठूला चट्टान र सडक नै बग्दा नेपाली सेनासँगको सहकार्यमा वैकल्पिक मार्ग निर्माण गर्ने तयारी गरिएको छ । बाढीपहिरोले मानवीय तथा धनजनको क्षति भएका स्थानमा हेलिकप्टरमार्फत उद्धार कार्य भइसकेकाले खर्चको शोधभर्ना प्रदेश सरकारले व्यहोर्ने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बताउनुुभयो ।

Photosurkhet20221015 (1) Photosurkhet20221015 (2) Photosurkhet20221015 (3) Photosurkhet20221015 (4)

अन्य

भिडियो