INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई जना बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्ष कैदको फैसला

१३ र १७ वर्षीया दुई बालिकालाई ०७७ असार ३० गते बलात्कार गरेको कसुरमा जिल्ला अदालत तनहुँले भानु नपा–३ माझिवनका ३३ वर्षीय रमेश तामाङलाई भदौ २९ गते १९ वर्ष कैदको फैसला गरेको छ ।

न्यायधीश दलबहादुर केसीको इजलासले दुई ओटा छुट्टछुट्टै मुद्दामा अभियुक्तलाई दोषी ठहर गर्दै क्रमशः १९ वर्ष र १६ वर्ष ६ महिना कैद र दुवै पीडितलाई १/१ लाख रुपियाँ क्षतिपुर्ति दिनुपर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले जानकारी दिनु भयो ।

दुई ओटा मुद्दामा दोषी ठहर भएको कारण अधिकतम सजायको थप पाँच वर्ष कैद बस्नु पर्ने गौतमले बताउनु भयो ।

सुस्तमनस्थिी भएका दुई बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय नारेश्वरटार भानुमा ०७७ असार ३० गते उजुरी दिएका थिए ।

प्रहरीले सोही दिन आरोपितलाई गिरफ्तार गरेको थियो । दुवै बालिकाको स्वास्थ्य परीक्षण असार ३० गते दमौली अस्पतालमा गरिएको थियो ।

गिरफ्तार गरिएका तामाङलाई जिल्ला अदालतको साउन २५ गतेको आदेशले पुर्पक्षको लागि कारागार चलान गरिएको थियो ।

अन्य

भिडियो