शैल्यशिखर नगरपालिका–१ बारिलकी ४५ वर्षीया अनिभा खडायतको बलात्कारपछि आगो लगाएर हत्या गरेको कसुरमा सोही ठाउँका ४२ वर्षीय देवर भोजराज खडायतलाई जिल्ला अदालतले भदौ २९ गते आजीवन कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले भदौ २९ गते खडायतलाई आजीवन कैदको फैसला सुनाएको जिल्ला अदालतका श्रेष्तेदार कौशल ज्ञवालीले बताउनु भयो ।
०७९ जेठ २५ गते एकल महिला समेत रहुन भएकी खडायतलाई बलात्कारपछि आगो लगाएर हत्या गरिएको थियो ।
घटनाका कसुरदार डायतलाई ज्यान मुद्दामा जन्मकैद सुनाइएको छ भने जबरजस्तीकरणीमा सात वर्ष, हाडनाता करणीमा एक वर्ष र डाँका मुद्दामा सात वर्ष गरी थप १० वर्ष कैद सजाय सुनाइएको सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मण खनालले बताउनु भयो ।
श्रेस्तेदार ज्ञवालीका अनुसार जबरजस्तीकरणीको कसुरमा अभियुक्तलाई सात वर्ष जेल र २ लाख रुपियाँ जरिवाना तोकिएको छ भने हाडनाता करणीमा एक वर्ष कैद र १० हजार रुपियाँ र मृतकको गहना समेत लुटेका कारण डाँका मुद्दामा सात वर्ष कैद र ७० हजार रुपियाँ जरिवाना तोकिएको छ ।
मृतक एकल महिला रहेकाले उहाँको आश्रित परिवारको भरणपोषणका लागि ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश समेत भएको श्रेष्तेदार ज्ञवालीले बताउनु भयो ।