INSEC Online

📅 २०८३ जेष्ठ २१

आठ दिनदेखि नगरपालिकाको कामकाज बन्दगरिएपछि सेवाग्राही मर्कामा

भंगहा नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन प्रमुख बिजय कुमार यादवमाथि कार्यकक्षमै दुव्र्यवहार गरिएको भन्दै कर्मचारीहरूले कार्यालयको कामकाज बन्द गरेपछि सेवा प्रवाह प्रभावित भएको छ । कर्मचारीहरू आन्दोलित भएपछि विगत आठ दिनदेखि नगरपालिकाका सेवाग्राहीहरू मर्कामा परेका हुन् ।

गत भदौ २० गते नगर उपप्रमुख शान्ति कुमारी सिंहको नेतृत्वमा नगरपालिकामा कर्मचारीलाई कामकाज गर्न नदिई ताला लगाउन खोज्दा कर्मचारी र उपप्रमुखबीच भनाभन भएको थियो ।

सोही क्रममा उपप्रमुखसँगै पुगेका वडा नम्बर–४ का वडा अध्यक्ष गणेश महतो र कार्यपालिका सदस्य बिजय मण्डलले प्रशासन, योजना तथा अनुगमन प्रमुख यादवलाई गालीगलौज गर्नुका साथै हातपात समेत गरेका थिए ।

त्यसपछि सोही दिनदेखि कर्मचारीहरू नगर कार्यपालिकाको कार्यालय लगायत नौ ओटै वडा कार्यालयको कामकाज बन्द गरी आन्दोलित भएका छन् ।

उपप्रमुख सिंह, वडा अध्यक्ष महतो र कार्यपालिका सदस्य मण्डलले यथाशीघ्र नगर सभा गर्नुपर्ने माग गर्दै कर्मचारीमाथि जाइ लागेको प्रशासकीय अधिकृत श्रवण कुमार साहले बताउनु भयो ।

उहाँले नगर सभा नगर प्रमुखले आह्वान गर्नुपर्ने विषय रहेको र यसमा कर्मचारीको कुनै संलग्नता नरहने भएकोले नगर सभाको विषयमा कर्मचारीलाई हातपात गर्नु उचित नरहेको बताउनु भयो ।

उहाँले वडा अध्यक्ष महतोले यसअघि पनि लेखा अधिकृत रामेश्वर प्रसाद घिमिरेसँग विवाद गरेको गुनासो गर्नु भयो ।

लेखा अधिकृत घिमिरेका साथै वडा नम्बर–४ स्थित आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्य शाखाका कर्मचारीहरू समेतलाई कार्यकक्षमा काम गरिरहेको बखत वडा अध्यक्ष महतोले पटक पटक कार्यकक्षमा गई अभद्र व्यवहार गर्दै जथाभाबी गालीगलौज तथा कार्यालयको सम्पत्तिसमेत तोडफोड गरेको उहाँले बताउनु भयो ।

नगर प्रमुखमा पराजित विजय मण्डल र गणेशप्रसाद महतोले नेपाली कांग्रेस भंगहा नगर कमिटीको फेसबुक पेजसमेत प्रयोग गरी सम्पूर्ण कर्मचारीहरूप्रति भ्रामक भ्रम फैलाएको र कर्मचारीलाई बदनियत पूर्ण तरिकाले अफवाह फैलाएको आरोपसमेत उहाँले लगाउनु भएको छ ।

नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको जिउ ज्यानको उचित सुरक्षाको प्रत्याभूति गराई सहज रूपमा कार्य गर्ने वातावरण सिर्जना गर्न र सो निन्दनीय कार्य गर्ने वडा अध्यक्ष महतो उपर हदैसम्मको कारबाही गर्न भंगहा नगरपालिका तथा प्रहरी प्रशासनसँग कर्मचारीहरूले माग गरेका छन् ।

यता, नगरपालिकाको आन्तरिक विवादका कारण वडा कार्यालयहरू पनि बन्द हुँदा अत्यावश्यक काम गराउन जाने सेवाग्राहीहरू काम नै नगराई खाली हात घर फिर्ता हुन बाध्य भएका छन् ।

यससम्बन्धमा उपप्रमुख शान्ति कुमारी सिंहसँग बुझ्न खोज्दा उहाँले आफू काम विशेषले विराटनगरमा रहेकोले अहिले कुराकानी गर्न नसक्ने बताउनु भयो ।

अन्य

भिडियो