प्रहरीको गोली लागी गणेशमान चारनाथ नगरपालिका–५ का ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते हुनु भएको छ ।
गणेशमान चारनाथ नगरपालिका–४ पोर्ताहास्थित चारनाथ खोलामा सई रामनाथ यादव नेतृत्वको प्रहरीको गस्ती टोलीलाई हतियारधारी समूहले भदौ २८ गते बिहान गोली प्रहार गरेपछि प्रहरीको जबाफी कारबाहीमा बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी बसन्त रजौरेका अनुसार हतियारधारी समूहलाई प्रहरीले रोक्न खोज्दा हतियारधारी समूहले गोली फायर गरेपछि जबाफी कारवाहीमा प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको हो ।
गोडामा गोली लागेर घाइते भएका बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएर प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार पश्चात जिल्ला प्रहरी कार्यालय धनुषा प्रहरी हिरासतमा राखिएको छ ।
जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको एसपी राजौरेले जानकारी दिनु भयो । घाइते बुढाथोकीको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।