नेपालमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयले भदौ २९ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म ११ हजार ६५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सात ओटै प्रदेश अन्तर्गतका ७५ जिल्लामा डेङ्गु फैलिएको छ ।
जसअनुसार प्रदेश १ मा ३ सय ४७, मधेस प्रदेशमा १ सय ९८, बागमती प्रदेशमा ८ हजार ३ सय ९०, गण्डकी प्रदेशमा २ सय २४, लुम्बिनी प्रदेशमा १ हजार ४ सय २१, कर्णाली प्रदेशमा १ सय ६२ र सुदूरपश्चिम प्रदेशमा ३ सय २३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
लामखुट्टेको टोकाइका कारण हुने डेङ्गुबाट बच्नका लागि घर वरपर सफा राख्न तथा झुलको प्रयोग गर्न स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् ।