म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीका बासिन्दाले जिल्ला सदरमुकाम व्यास नगरपालिकाको दमौली बजारमा ल्याइएको खानेपानीको मुहान बन्द गरेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक सार्वजानिक कार्यक्रममा दिएको अभिव्यक्तिले गुणादीवासीको भावनामा चोट पुगेको भन्दै भदौ २५ गते साँझबाट खानेपानीमा अवरोध गरेका हुन् ।
गुणादीको मुहानबाट ल्याइएको पानी खाँदा दमौलीबासी बिरामी परेको र अहिले आफ्नो पहलमा मादी नदीको डिप बोरिङबाट पानी निकालेर वितरण गरेपछि बल्ल बजारबासी स्वस्थ भएको बताएको भन्दै पौडेलको उक्त अभिव्यक्तिको विरुद्धमा गुणादीका बासिन्दाले दमौलीतर्फ लगिएको पानीको मुहान बन्द गरेका हुन् ।
भदौ २४ गते नेपाली कांग्रेस तनहुँको आयोजनामा गरिएको विपी जयन्तीको कार्यक्रममा नेता पौडेलले गुणादीको मुहानको पानीमा चुना मिसिएको हुँदा उक्त पानीको सेवनबाट पहिला दमौलीबासी बिरामी पर्ने गरेको भन्दै अहिले आफ्नो पहलमा सम्पन्न भएको मादी नदीको डिप बोरिङको पानीले बल्ल बजारबासी स्वस्स्थ भएको बताउनु भएको थियो ।
नेता पौडेलको मन्तव्य सामाजिक सञ्जालमा सार्वजानिक भएपछि गुणादीबासीले दमौलीतर्फ जाने पानीको मुहान बन्द गरेका थिए ।
गुणादी टोल विकास संस्थाका अध्यक्ष रञ्जित आलेले गुणादीबासीले उपभोग नगरिकन वर्षाैँदेखि दमौलीबासीलाई पानी उपलब्ध गराइएपनि अहिले आएर जिम्मेवार नेताले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउनु भयो ।
पौडेलको अभिव्यक्तिले गुणादीबासीको भावनामा चोट परेको हुँदा पौडेलले गुणादीमा आई स्थानीयबासीन्दासँग माफी नमागेसम्म दमौली लगिएको पानीको मुहान बन्द गरिने बताउनु भयो ।
स्थानीय युवा अनिल अधिकारीले पनि गुणादीबासीले पनि त्यही मुहानको पानी उपभोग गरिरहेको भन्दै नेता पौडेलको भनाईले गुणादीबासीको अपमान भएको बताउनु भयो ।
पानीको मुहान बन्द गरिएपछि दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बृषराज श्रेष्ठ सहितको टोलीले भदौ २६ गते गुणादीबासीलाई भेटी पानी सुचारु गर्न अनुरोध गरेका थिए ।
तर, गुणादीबासीले भने पौडेल स्वयम् आएर गुणादीबासीसँग माफी माग्नु पर्ने बताएका थिए । अधिकारीले नेता पौडेल स्वयम् आएर माफी नमागेसम्म पानी सुचारु नगर्ने बताउनु भयो ।
दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले भदौ २६ गते विज्ञप्ति प्रकाशन गरी गुणादीबाट ल्यइएको पानी शुद्ध भएको हुँदा कुनै भ्रममा नपर्न आह्वान गरेको छ ।
यसैगरि काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले गुणादीबासीको भावनामा चोट पुग्ने धारणा व्यक्त नगरिएपनि मन्तव्यलाई अतिरञ्जित गरिएको बताउनु भयो ।
उहाँले भन्नु भयो–‘केही गरी गुणादीबासीको भावनामा चोट पर्न गएको भए क्षमा प्रार्थी छौँ ।’
गुणादीबाट ल्याइने पानीको मुहान बन्द गरिएपछि दमौलीमा पानीको अभाव भएको छ । पानीको अभावका कारण भदौ २६ गते बिहानबाट दमौली बजार क्षेत्रका अधिकांश निजी धारामा पानी आएको छै्रन ।
यसअघि मादी नदीको डिप बोरिङबाट पानी ल्याएर उपभोक्तालाई वितरण गर्ने गरिएकोमा बोरिङको पानी तान्ने मोटर बिग्रिएपछि केही महिना यता गुणादीको पानी मात्रै उपभोक्तालाई वितरण गरिएको थियो ।
दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बृषराज श्रेष्ठले गुणादीबासीको भावनाको सम्मान गर्दै जतिसक्दो चाँडो पानी आपुर्ति गर्ने बताउनु भयो ।
खानेपानी सुचारु नहुँदा वडा नम्बर २, ३ र ४ का करिब ५ हजार घरपरिवार प्रभावित हुने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
