सुरक्षा जाँचको क्रममा रोकिएको माइक्रोबस तोडफोड गरेको घटनाको रिपोर्टिङ गर्ने क्रममा पत्रकार देवचन्द्र भट्टमाथि वैशाख २६ गते साँझ प्रहरीले दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।
विदुरमा प्रहरी चेकजाँचको क्रममा स्थानीय भीडले माइक्रोस तोडफोड गरेपछि उक्त माइक्रोबसको फोटो खिच्न लाग्दा नेपाल टेलिभिजन र अन्नपूर्ण मिडिया नेटवर्कका नुवाकोट प्रतिनिधि ३६ वर्षीय भट्टमाथि प्रहरीले अपशब्द प्रयोग गर्दै क्यामेरा फुटाइदिने भन्दै क्यामेरा खोस्ने प्रयास गरेको पीडितले बताए ।
जिल्ला निर्वाचन कार्यालय अगाडि मुख्य सडकमै सुरक्षामा खटिएका प्रहरी गस्तीको अगाडि बा १ ज ९०८४ नम्बरको माइक्रोबस स्थानीयले तोडफोड गरेपछि समाचार सङ्कलन तथा तस्वीर लिने क्रममा सुरक्षामै खटिएका महिला प्रहरी हवल्दार शारदा खरेल र महिला प्रहरी जवान सुस्मिता श्रेष्ठले आफूलाई गालीगलौज गर्दै क्यामेरा खोस्ने प्रयास गरेको पत्रकार भट्टले बताए ।
भट्ट नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद् तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका छन् । उनले नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति, प्रेस चौतारी नेपाल केन्द्रीय समिति, राष्ट्रिय मानव अधिकार आयोग, मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडा, जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय नुवाकोटमा दोषी प्रहरीलाई कारबाहीको माग गर्दै वैशाख २७ गते उजुरी दिएको बताएका छन् ।
मध्य क्षेत्रीय प्रहरी कार्यालय हटौँडाका डिआइजी गणेश केसीले घटनामा संलग्न दोषी प्रहरीलाई विभागीय कारबाही गरिने प्रतिबद्धता जनाएको पनि उनले बताए ।