राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ०७९ भदौ २१ गते चरिकोट बजारमा निकालेको जुलुसमालाई नियन्त्रण गर्ने नाममा सर्वसाधारण नागरिक माथि अन्धाधुन्ध लाठी प्रहार गर्ने प्रहरी कमान्डरलाई विभागीय कारबाही गर्न माग गरेको छ ।
गठवन्धन सरकारले देशमा गरेको भ्रष्टाचार, लुटतन्त्र, मुल्यबृद्धि, राष्ट्रघाति नागरिकता विधेयक लगाएतको बिरोधमा राप्रपाले भदौ २१ गतेसाँझ चरिकोटमा निकालेको राँके जुलुसलाई राँको खोस्न छोडेर प्रहरीले लाठी र बुट बझार्दा दर्जनौं कार्यकर्ता घाइते भएको राप्रपा जिल्ला अध्यक्ष राजनबहादुर शवाकोटीले बताउनु भयो ।

चरिकोटमा भदौ २२ गते आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शिवाकोटीले सातदोबाटो स्थित चौकीका प्रहरीले राँकाहरू बाल्न नदिने, बालेका राँका खोस्न र निभाउन लागेको तर जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटका सई अशोक तमाङको कमान्डमा आएको टोलीले पसलमा सामान किन्न आएका ग्राहकलाई समेत मराणासन्न हुने गरी कुटपिट गरेको दाबी गर्नु भयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष शिवाकोटीले सई तमाङलाई तत्काल कारबाही नगरे राप्रपाले सशक्त आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।
प्रहरी दमनबाट राप्रपा दोलखाका सचिव रामबहादुर तामाङ, प्रवक्ता भानुभक्त शिवाकोटी, किसान सङ्गठनका केन्द्रीय सदस्य किरण शाही, युवा मोर्चा दोलखाका अध्यक्ष नवराज खड्का (राजाभाई), उपाध्यक्ष तोरण सापकोटा लगाएतका नेता तथा कार्यकर्ता घाइते भएको र घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भईरहेको पत्रकार सम्मेलनमा अध्यक्ष शिवाकोटीले बताउनु भयो ।
युवा मोर्चा दोलखाका अध्यक्ष राजाभाई लगायतलाई प्रहरीले राँके जुलुस नियन्त्रण गर्ने नाममा अन्धाधुन्ध लाठीचार्ज गरी राप्रपाका नेता कार्यकर्ता सख्त घाइते बनाएको नेपाल पत्रकार महासङ्घ, दोलखाका अध्यक्ष तथा नागरिक समाजका अगुवा दीपशंकर चौलागाईँले बताउनु भयो ।