INSEC Online

📅 २०८३ जेष्ठ २१

पारिश्रमिक कटौतीविरूद्ध बालविकास शिक्षकहरू आन्दोलित

विराटनगर महानगरपालिकाले बाल विकास शिक्षकले पाउँदै आएको पारिश्रमिक कटौती गरेको विरोधमा बालविकास शिक्षकहरू आन्दोलित भएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी महानगरपालिकाले बाल विकास शिक्षकको मासिक पारिश्रमिकमा २ हजार रुपियाँ कटौती गरेपछि बालविकास शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।

महानगरपालिकाले यसअघि बाल विकास शिक्षकलाई मासिक ७ हजार रुपियाँ दिँदै आएको थियो ।

आर्थिक वर्ष २०७९-०८० महानगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा बजेट व्यवस्थापन गरिनुपर्ने भन्दै २ हजार रुपियाँ घटाएर मासिक ५ हजार रुपियाँ दिने निर्णय गरिएको छ । सोही निर्णाय अनुसार महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले १७ भदौमा विराटनगरका सम्पूर्ण सामुदायिक विद्यालय, बालविकास केन्द्रहरूलाई परिपत्र गरेको छ ।

खाइपाई आएको पारिश्रमिक बढाउनुपर्नेमा आर्थिक व्यभार बढेको भन्दै दैनिक ६ घण्टा श्रममा खटिने बाल विकासको शिक्षकहरूको पारिश्रमक कटाएपछि आन्दोलनमा उत्रिएको बाल विकास शिक्षक सङ्घ मोरङकी अध्यक्ष लीला धमालाले बताउनु भयो ।

विराटनगर महानगरपालिकाभित्रका १ सय ४६ जना बाल विकास शिक्षकहरू भदौ १९ गतेदेखि चरणबद्ध आन्दोलनमा छन् । विराटनगर महानगरपालिको गेटमा धर्ना दिएर खाइपाई आएको पारिश्रमिक कटौती नगरी महानगरले दिने ७ हजार रुपियाँ कायम गर्नुपर्ने माग उनीहरूको छ ।

दैनिक ६ घण्टासम्म बालबालिकाहरूको पठनपाठनमा खटिने शिक्षकको पारिश्रमिक वृद्धि गरिनुपर्नेमा विराटनगर महानगरपालिकाले शिक्षकहरूको तलब घटाएर अन्याय गरेको बाल विकास शिक्षक सङ्घर्ष समितिको संयोजक सावित्रा निरौलाले बताउनु भयो  ।

महानगरपालिकाले दिँदै आएको पारिश्रमिक सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने निरौलाको भनाइ छ ।

पहिलो चरणको आन्दोलनबाट बाल विकास शिक्षकको माग पुरा नभए दोस्रो चरणको सशक्त आन्दोलन सुरू गर्ने बाल विकास शिक्षक सङ्घ मोरङकी अध्यक्ष लीला धमालाले बताउनु भयो । जिल्लामा ९ सय जना बाल विकास शिक्षकहरू छन् ।

विराटनगर महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गाप्रसाद खतिवडाले बाल विकास शिक्षकहरूले  खाइपाइ आएको तलव कटौती नभएको बताउनु भयो ।

सङ्घीय सरकारले पठाउने रकम बढेपछि महानगरले पारिश्रमिक कटौती गरेको महाशाखा प्रमुख खतिवडाले बताउनु भयो । सङ्घीय सरकारले यसअघि ८ हजार र महानगरपालिकाले ७ हजार रुपियाँ दिने गरेको थियो ।

आफूहरूका माग सम्बोधनका विषयमा भदौ २० गते विराटनगर महानगरपालिकाका मेयर र शिक्षा शाखाप्रमुखसहित बैठक बसेको भएपनि निकास नस्किएको बाल विकास शिक्षक सङ्घ मोरङकी अध्यक्ष लीला धमालाले बताउनु भएको छ ।

photo 20220609 Morang

अन्य

भिडियो