चन्द्रपुर नगरपालिका–७ बनबहुअरीका १० वर्षीय बालक दिपेश माझीको उपचारको क्रममा डाक्टरको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै मृतक बालकका आफन्तजनले चन्द्रपुर अस्पतालमा तोडफोड गरी क्षति पुर्याएका छन् ।
पीडितका बाबु रुपलाल माझीले छोरालाई ०७९ भदौ २० गते बिहान उपचारको लागि चन्द्रपुर अस्पतालमा लगिएको र केही समयपछि सुई लगाएर उल्टो औषधि गरेर डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्ने आरोप लगाउनु भएको छ । उहाँले दोषीलाई कारवाही गर्नुपर्ने माग गर्नु भएको छ ।
अस्पतालका प्रमुख डाक्टर सुवास चौधरीले बिरामीलाई भदौ २० गते करिब ५ः३० बजे स्थानीय क्लिनिक जयशिव प्याथोलोजीमा उपचारको क्रममा जोखिम बढेको भन्दै चन्द्रपुर अस्पताल ल्याइएको र बिहान उपचारको क्रममा मृत्यु भएको बताउनु भयो ।
अस्पतालमा आउनुभन्दा पहिला क्लिनिकमा उपचार गरेको रिपोर्ट हेर्दा १२ वर्षभन्दा माथिको व्यक्तिले खाने औषधि १० वर्षको बालकलाई खुवाइएको प्रमुख डाक्टर चौधरीको भनाइ छ ।
‘जसको साइडइफेक्ट भनेको रगत बोमिट गर्ने, मिर्गौलामा समस्या हुने लगायतका लक्षणहरु हुन्छन् । बिरामी ल्याएको करिब ३० मिनेटमा बिरामीको अवस्थाको रिपोर्ट लिन नपाउँदै मृत्यु भएको हो ।’–उहाँले भन्नु भयो ।
अस्पतालमा ढुङ्गामुढा गर्दा झ्यालका शिशाहरू फुटेको र अन्य बिरामीको सुरक्षामा कठीनाइ भइरहेको उहाँले बताउनु भयो ।
अस्पतालको तर्फबाट शान्ति सुरक्षा तथा क्षतिपुर्ति सहितको निवेदन इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरमा दिने तयारी रहेको उहाँले बताउनु भयो ।
शवको पोष्र्टमार्टमका लागि भदौ २० गते नारायणी अस्पताल वीरगंज लगिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगहापुरका डिएसपी सन्तुलालप्रसाद जयसवालले बताउनु भयो ।