इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ललाई इन्सेक अनलाइनमा छापिएको समाचारको विषयमा मार्ने धम्की दिएको घटनाका आरोपित दैलेख जिल्ला भगवतीमाई गाउँपालिका–५ घरभई हाल नेकपा एमाले कालिकोट जिल्ला पार्टी कार्यालय सचिव रहनु भएका दानबहादुर शाहीलाई प्रहरीले भदौ २० गते साँझ गिरफ्तार गरेको छ ।
आरोपित शाहीले आफ्नी कान्छी पत्नीलाई कुटपिट गरी घर निकाला गरेको समाचार ०७९ भदौ १८ गते इन्सेक अनलाइनमा छापिएपछि टेलिफोनमार्फत भदौ १९ गते गर्दन छिनाली दिने भन्दै मार्ने धम्की दिएका थिए । घटनाका सम्बन्धमा इन्सेक जिल्ला प्रतिनिधि कालिबहादुर मल्लले जिल्ला प्रहरी कार्यालय, कालिकोटमा भदौ २० गते उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जयश्वर रिमालले जानकारी दिनु भएको छ ।
एमाले पार्टी कार्यालय सचिव समेत रहेका शाहीले ०७५ सालमा दोस्रो विवाह गरी एक छोरासहित घरमा बसेकी पत्नीलाई कुटपिट गरी घर निकाला गरेपछि समाचार छापिएको थियो ।
घटनाका सम्बन्धमा पीडितले इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतमा भदौ २० गते निवेदन दिनु भएको थियो ।
घटनाको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा, कर्णाली प्रदेश, केन्द्रीय समिति, मानव अधिकार रक्षक जिल्ला सञ्जाल, प्रेस चौतारी जिल्ला, प्रदेशले विज्ञप्तिमार्फत निन्दा गरेका छन् ।