INSEC Online

📅 २०८३ जेष्ठ २१

अपमानबोध भएका नागरिकता सच्याउने अभियान, अब उहाँको नाम ‘फणिन्द्र बादी’ !

नागरिकतामा लेखिएको नामले आफूलाई अपमान बोध भएको भनी सच्याइदिन दिएको निवेदन अनुसार जिल्ला प्रशासन कार्यालय, दैलेखले भदौ १९ गते दुल्लू नगरपालिका–१ दुल्लू बजारका ३९ वर्षीय फणिन्द्र बादीलाई सच्याएर प्रतिलिपी दिएको छ ।

उतिबेला पनि यस्तो नाम नराखिदिन आग्रह गर्दा समेत तत्कालिन दुल्लू गाविस सचिव डिलबहादुर थापाले गरेको सिफारिसका आधारमा नागरिकतामा ‘फ्याउरो बादी’ लेखिएको उहाँको भनाई छ । त्यसबेलाका प्रमुख जिल्ला अधिकारी टेकराज ज्ञवालीले प्रमाणित गर्नुभएको नागरिकता २०६० जेठ ९ गते जारी भएको थियो ।

गत महिना मात्र भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका ६२ वर्षीय कविराम कामीको नाम पनि यस्तै अपमानित रहेको भन्ने समाचार सार्वजनिक भएपछि देशभरको अरु नागरिकका पनि अपमानित नाम सच्याउनुपर्ने सन्दर्भ बहस चलेको थियो ।

आम सञ्चार माध्यम र संसदमा समेत अपमानित नामहरू सच्याउन दबाव परेपछि २०७९ साउन २३ गते यस्ता अपमानजनक नाममा नागरिकता जारी नगर्न र पहिले जारी भएका नागरिकता बाहकले सच्याउन चाहेमा सच्याइदिन गृह मन्त्रालयले परिपत्र गरेपछि फणिन्द्र बादीले अहिले नाम परिवर्तन गराउनुभएको हो ।

गाउँसमाजका समूहमा नाम राख्दा, मतदान गर्न र बैंकमा खाता खोल्ने जस्ता काममा नागरिकता जरुरी पर्दा पनि नागरिकता देखाउन गाह्रो लाग्थ्यो । नागरिकतामै ‘फ्याउरो बादी’ लेखिएको कारण जिस्काउनलाई पनि चिया पसल र चौतारामा नाम सोध्थे, म भन्थें सबै गललल् हास्थे फणिन्द्रले भन्नुभयो । उहाँले भन्नुभयो ‘अव त जसले सोधे नि निर्धक्क फणिन्द्र बादी भन्छु ।’

गृह मन्त्रालयको परिपत्र अनुसार पहिले लेखिएको अपमानबोधक नामको ठाउँमा ‘फणिन्द्र बादी’ लेखियो । ठेगाना, नागरिकता नम्बर, बाबुको नाम, नागरिकता जारी भएको मिति सबै पुरानै कायम गरेर नागरिकताको प्रतिलिपी दिइएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।

‘फणिन्द्र बादी’ ले पाउनुभएको प्रतिलिपीमा सुरु नागरिकता लिंदा लेखिए अनुसार नै उहाँको जन्म मिति २०४० जेठ २ गते, नागरिकता लिएको मिति २०६० जेठ ९ गते, जारी गर्ने प्रमुख जिल्ला अधिकारी टेकराज ज्ञवाली भनी पुरानो विवरण सारिएको छ ।

अभिलेख अनुसार उहाँले पहिलो प्रतिलिपी २०७५ वैशाख २५ गते पुरानै नाममा लिनुभएको र पहिलेको अपमानबोधक नामको सट्टा ‘फणिन्द्र बादी’ नाम जनाएर दोश्रो प्रतिलिपी ०७९ भदौ १९ गते सच्याइएको नाम प्रमाणित गर्ने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल उल्लेख गरिएको छ ।
अपमानित नाम सच्याउन गृह मन्त्रालयको परिपत्र अनुसार देशभरमै पहिलो पटक जिल्ला प्रशासन कार्यालय, दैलेखले २०७९ भदौ ५ गते एकै दिन दुई जना व्यक्ति भगवतीमाई गाउँपालिका–३ का ६२ वर्षीय कविराम कामी र भगवतीमाई गाउँपालिका–५ कट्टीका ४४ वर्षीय कर्णबहादुर बिकलाई पहिले लिएको नागरिकमा लेखिएको अपमानबोधक नामको सट्टा नाम सच्याइएर दिएको थियो ।

पहिलेको अपमानबोधक नामको सट्टा ‘फणिन्द्र बादी’ नाम जनाएर प्रतिलिपी पाउने उहाँ दैलेखको तश्रो व्यक्ति भएको जिल्ला प्रशासन कार्यालय, दैलेखका सूचना अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

परिपत्र अनुसार बागलुङको ताराखोला गाउँपालिका–४ तारागाउँकी ५६ वर्षीया सावित्री कामीलाई अघिल्लो अपमानित नामको सट्टा सच्याएर प्रतिलिपी दिइएको थियो । २०७९ भदौ ६ गते बागलुङका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले उक्त प्रतिलिपी दिनुभएको थियो ।

दैलेखमा तीन, बागलुङमा एक समेत देशभर अहिलेसम्म चार वटा मात्र अपमानबोधक नाम सच्याइएका छन् । नाम सच्याउन अपमानबोध भएको भनी आफू बसेको गाउँपालिका वा नगरपालिकाको वडाको सिफारिस, सर्जिमिन समेत नागरिकताको प्रतिलिपी अनुसूची फाराम, सक्कल नागरिकता र व्यक्तिको निवेदन समेत जिल्ला प्रशाासन कार्यालय जानुपर्ने प्रक्रिया तोकिएको छ ।

आफू बसेको गाउँपालिका वा नगरपालिकाको वडाको सिफारिस, सर्जिमिन समेत नागरिकताको प्रतिलिपी अनुसूची फाराम, सक्कल नागरिकता र व्यक्तिको निवेदन समेत प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले प्रहरीमार्फत बुझविस्तार गरी प्रतिलिपी दिने गरिएको छ ।

अपमानबोध भएको भनिएको नागरिताको प्रमाण–पत्रमा उल्लेखित नामले सम्बन्धित व्यक्तिको विषयमा कुनै फौजदार कसूरमा मुद्दा चलेर फरार रहेको, कैद सजाय असुल गर्नुपर्ने वा यस्तै अघिल्लो नागरिकता अनुसार कुनै असूल उपर गर्नुपर्ने भए सोको दायित्व समेत जाने गरी नाम सच्याउन सम्बन्धित परिपत्रको छुट्टै व्याख्या पठाइएको गृह मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका इञ्चार्ज सहसचिव डा. भीष्मकुमार भुसालले बताउनुभयो ।

अपमानबोध भएका नाम सच्याइसकेपछि पति–पत्नी, छोराछोरी समेत परिवारजनको पनि कसरी बदल्ने भनी गृह मन्त्रालयले छुट्टै परिपत्र गरेको छ । त्यस अनुसार दैलेखमा कविराम कामीको एक छोराको नागरिकतामा बुबाको नाम कोलममा नयाँ सच्चिएको र कर्णबहादुर बिकको श्रीमतिको नागरिकतामा पतिको नाम सच्याइएको छ ।

नागरिकता वाहकको नाम सच्याइसकेपछि मतदाता नामावली, बैंक खाता, राष्ट्रिय परिचपपत्र, राहदानी समेत सबै ठाउँमा सच्याउने विधि र प्रक्रिया पनि गृह मन्त्रालयको परिपत्र अनुसार सच्याउने काम भइसकेको जिल्ला प्रशासन कार्यालय, दैलेखका सूचना अधिकारी कोइरालाले जानकारी दिनुभयो ।
Photodailekh20220905 (1) Photodailekh20220905 (2) Photodailekh20220905 (3) Photodailekh20220905 (4) Photodailekh20220905 (5)

अन्य

भिडियो