पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा खडक नगरपालिका–३ का २० वर्षीय भविया भनिने मो. नजामविरुद्दको मुद्दा जिल्ला अदालतले भदौ १७ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले ‘फरार’ रहेका अरोापितविरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको हो ।
पीडित बालकलाई आरोपितले ०७७ जेठ ९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा ०७७ जेठ ११ गते उजुरी दिएकी थिइन् ।
पीडित बालकको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७७ जेठ १२ गते गरिएको थियो ।
इलाका प्रहरी कार्यालय कडरबोनाले ०७७ जेठ १७ गते उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतबाट आरोपितविरुद्ध ०७७ असार १६ गते पक्राउ पुर्जी जारी भएकोमा आरोपित हालसम्म गिरफ्तार नभएको प्रहरीले जनाएको छ ।