दोस्रो चरण अन्तर्गत जेठ ३१ गते हुने भनिएको स्थानीय तह निर्वाचनको तयारी र मानव अधिकारकर्मीहरूको भूमिका विषयमा जिल्लास्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम वैशाख २६ गते तानसेनमा सम्पन्न भएको छ ।

इन्सेकको पहलमा गठित जिल्लास्तरीय मानव अधिकार निगरानी समूहको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बावुराम गौतमले निर्वाचनको सुरक्षा तयारी पूरा भएको जानकारी गराए । उनले मतदान केन्द्रको अवलोकन र सुरक्षा प्रबन्धसहित अन्य सबै तयारी अगाडि बढेको बताए ।
प्रजिअ गौतमले निर्वाचन आचारसंहिताको कडा रूपमा अनुगमन हुने र कतै उल्लङ्घन भएको पाइए तत्काल निवेदन दिन आग्रह गरे । जिल्ला प्रहरी कार्यालयका एसपी हरिराज वाग्लेले म्यादी प्रहरी सहितको प्रहरी गस्ती बढाइएको बताए । उनले निर्वाचनको सफलताका लागि मानव अधिकारकर्मी र मानव अधिकार निगरानी समूहकोसमेत सहयोग महत्वपूर्ण हुने बताए ।

वरिष्ठ पत्रकार मेघराज शर्मा, बार एसोसिएशन पाल्पाका अध्यक्ष जोगलाल बिश्वकर्मा, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष भेषराज तिमिल्सिना, मानव अधिकार निगरानी समूहका संयोजक भगवान भण्डारीलगायतले निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिका प्रयोग हुन सक्ने भन्दै प्रशासनको ध्यानाकर्षण गराएका थिए । वक्ताहरूले मतदाता शिक्षाको कार्यक्रम प्रभावकारी हुन नसकेको बताउँदै घरघरमा पुगेर शिक्षा दिनुपर्नेमा जोड दिए ।