१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ सितलाका २० वर्षीय सुरेशबहादुर थापालाई दैलेख जिल्ला अदालतले १३ वर्ष कैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ ।
कसूरदारले इन्कार गरे पनि पीडित पक्षले प्रहरीमा दिएको उजुरी, अदालतमा दिएको बयान र मेडिकल रिपोर्ट समेतबाट बलात्कार गरेको पुष्टि भएकोले जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट भदौ १४ गते उक्त फैसला भएको अदालतका सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिनु भएको छ ।
दुई वर्ष अघि ०७७ भदौ २७ गते गोठाला गएको बखत ती बालिकालाई कसूरदारले बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २८ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण भदौ २८ गते नै दैलेख अस्पतालमा भएको थियो ।
घटनाका सम्वन्धमा प्रहरीले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकील कार्यालयले ०७७ असोज २३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी सम्वन्धी अभियोग दर्ता गराएको थियो ।
अभियोग दर्ता भएको भोलिपल्ट असोज २४ गते भएको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट कसूरदारलाई पूर्पक्षका लागि दैलेख कारागारमा पठाइएको थियो ।
फैसलामा मुलुकी अपराध सहिंताको दफा २१९ को उपदफा ३ (२) अनुसार कसूरदारलाई १३ वर्ष कैद, दफा २२८ अनुसार पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने र अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा कसूरदारले २ हजार २ सय रुपियाँ योगदान गर्नुपर्ने उल्लेख गरिएको छ ।