INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचार सङ्कलनका लागि गएका काष्ठमण्डप टेलिभिजनका पत्रकारमाथि कुटपिट

समाचार सङ्कलनका लागि काठमाडौँ महानगरपालिका–३१ हातिसारस्थित गोर्खा ब्रुअरी कम्पनीमा गएका काष्ठमण्डप टेलिभिजनका पाँच जना पत्रकारमाथि सुरक्षागार्डले ०७९ भदौ १२ गते कुटपिट र दुर्व्यवहार गरेका छन् ।

काष्ठमण्डप टेलिभिजनका मुख्य सम्पादक योगश पाठकद्वारा भदौ १२ गते जारी विज्ञप्तिमा हात्तिसार स्थित रहेको खेतान समुहको गोर्खा ब्रुअरी कम्पनीको कार्यालयमा सोधपुछ गर्न त्यहाँ कार्यरत खेतान समूह र लक्ष्मी बैँकद्वारा खटाईएक सुरक्षा गार्डले आक्रमण गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा जनाईए अनुसार खेतान समूहको गोर्खा बु्रअरी कम्पनीले विगत केही महिनादेखि गैरकानूनी तथा अवैध तरिकाले काठमाडौँमा सार्वजनिक ठाउँहरूमा मदिराको खुलेआम विज्ञापन गरिरहेको रिपोर्ट प्रसारण गरेको थियो ।

कम्पनीले काठमाडौँ महानगरपालिकाले उक्त विज्ञापन गर्न कुनै अनुमति नदिएको तथ्य बाहिरिएपछि त्यसको फ्लोअप रिपोर्टका लागि काष्ठमण्डप टेलिभिजनका रिपोर्टर फोमस भण्डारी र क्यामरा म्यान रमेश सिंह विष्ट आइतबार दिउँसो १ बजे कम्पनीको रिसेप्सनसँग अनुमतिमै हात्तिसारस्थित नेपालका लागि मुख्य कार्यालयमा जान खोज्दा गोर्खा ब्रुअरी कम्पनी र लक्ष्मी बैंकद्वारा खटाइएका जीफोरएस कम्पनीका सुरक्षा गार्डले कुटपिट तथा गालीगलौज गर्दै प्रवेश निषेध गरेपछि टेलिभिजनबाट सहयोग गर्न गएका थप रिपोर्टरहरू लेदन राई, ब्रज किशोर पटेल र क्यामरा म्यान राजेन्द्र तामाङलाई गार्डले कुटपिट गरी क्यामेरामा क्षति पुर्‍याएको टेलिभिजनका मुख्य सम्पादक पाठकले बताउनुभयो ।

यसैबीच नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले भदौ १३ गते एक विज्ञप्ति जारी गर्दै नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि समाचार सङ्कलनमा अवरोध गर्नु, हातपात हुनु तथा सञ्चार सामाग्रीमा क्षति पुर्याउने काम हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन् ।

विज्ञप्तिमार्फत महासङ्घले प्रेघटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षित र निर्बाध रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।

Kastamandap television press release

अन्य

भिडियो