छेडागाड नपा–१२ स्थित हिमालय आधारभूत विद्यालयको भवन वर्षातका कारण पहिरो गएपछि विद्यालयको भवन चर्किदाँ बालबालिका प्लाष्टिकको पालमुनि पढ्न बाध्य भएका छन् ।
गत साउन १० गते परेको ठूलो झरीले विद्यालयको भवन चर्किएको प्रद्यानाध्यापक तिलक अधिकारीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो ‘साउन १० गते ठूलो वर्षात भएपछि विद्यालय नजिकै पहिरो जाँदा भवनमा समेत क्षति पु¥याएको छ, विद्यालयको भवन चर्किएको छ साथै कुनै कक्षाको त ढोका समेत खोल्न नमिल्ने अबस्थामा छन् ।’
पाँच कक्षासम्म रहेको उक्त विद्यालयको दुइवटा भवनको चार वटा कक्षा कोठामा क्षति पुगेको र कक्षा तीनदेखि पाँचसम्मका बालबालिका पढ्ने तीन वटा कक्षा कोठा र स्टोर रुम क्षतिग्रस्त भएपछि अहिले बालबालिकालाई पालमुनि राखेर पढाई रहेको प्रद्यानाध्यापक अधिकारीले बताउनु भयो ।
प्रद्यानाध्यापक अधिकारीका अनुसार शीतल हुँदा पढाउन सजिलो भए पनि ठूलो झरी वर्षात हुँदा अथवा चर्को घाम लाग्दा प्लाष्टिकमा बाफिएर पढ्न नसक्ने अवस्था छ । उहाँले भन्नु भयो,‘ निक्कै दुःखले पढाइरहेका छौँ । बढी घाम लाग्यो अथवा ठूलो पानी पर्दा सबै बालबालिकालाई एकै ठाउँमा राख्नु पर्ने हुन्छ त्यसले गर्दा बालबालिकाको पठनपाठनमा निकै समस्या आएको छ ।
भवन चर्किएपछि वडा कार्यालय, प्रहरी चौकी र नगरपालिकामा जानकारी गराए पनि नगर शिक्षा शाखाबाट तत्काल केही सहयोग गर्न नसक्ने जवाफ दिएको प्रद्यानाध्यापक अधिकारीले बताउनु भयो ।
‘प्रहरी नै बोलाएर मुचुल्का उठाएका छौं । वडा कार्यलयमा समेत तस्वीरसहित निवेदन दिएका छौं,’ उहाँले भन्नु भयो, ‘ तर, जानकारी गराउँदा नगरपालिकाको शिक्षा कार्यालयले सहयोग गर्न नसक्ने जवाफ दिएको छ ।’
यता, छेडागाड नगरपालिकाको शिक्षा शाखा प्रमुख दिपक शाहीले भवन चर्किएको भन्ने जानकारी पाएको तर भवनको अनुगमन गर्न जान नसकेको बताउँदै, भवन चर्किएकोले केही सहयोग गर्नका लागी समेत अहिले बजेट नभएकाले केही सहयोग गर्न नसकिने र बजेट आएपछि कुनै शिर्षकबाट मिलाउन सकिने हुँदा बजेटको अख्तियारी आएपछि विद्यालयको समस्या समाधान गरिने बताउनु भयो ।
विद्यालयमा अहिले बाल कक्षादेखि पाँच कक्षासम्म ६६ जना बालबालिका अध्ययनरत छन् । दुई जना स्थायी शिक्षक, एक जना राहत शिक्षक, एक जना बालविकास शिक्षक गरी चार जना शिक्षक र एक जना विद्यालय कर्मचारी छन् ।
